प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको अर्थतन्त्र चर्को दबाबमा रहेको स्वीकार गरेका छन्। बुधबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रममा दाहालले नेपालको अर्थतन्त्र अझै पनि चर्को दबाबमा रहेको स्वीकार गर्दै यो अवस्थालाई गम्भीर रूपमा नलिए अप्ठ्यारो स्थिति आउने बताए।
‘म प्रधानमन्त्री हुँदै गर्दा एउटा आतंक थियो, नेपालको अर्थतन्त्र पतन भयो अथवा नेपाल श्रीलंका भइ नै सक्यो भनेजस्तो थियो। कम्तीमा अहिले त्यस्तो चाहिँ छैन । अहिले हामीले जे पहल गरेका छौँ, त्यो आतंकचाहिँ छैन । तर, अर्थतन्त्रचाहि चर्को दबाबमा अहिले पनि छ,’ उनले थपे, ‘अर्थतन्त्र सहज भइसक्यो भन्ने मेरो बुझाइ छैन, अहिले पनि स्थिति गम्भीर छ। हामी सबैले गम्भीर ढंगले नलिने हो भने अप्ठ्यारो स्थिति बन्न सक्छ।’
उनले देशको आर्थिक अवस्था सुधार तथा सुशासनको पक्षमा सरकारले सकेको जति बल गरेर काम गरिरहेको बताए। आर्थिक अवस्थामा सुधार गर्न राष्ट्रबैंकको मौद्रिक नीति र सरकारको वित्तीय नीतिमा तालमेल मिलाउन धेरै प्रयास गरेको बताए। उनले भने, ‘सरकारले गुड गर्भनेन्सको पक्षमा अहिलेको हाम्रो परिस्थितिमा सकिनेजति बल गरिएको छ भन्ने छ मेरो, थुप्रै बेथितिहरुमाथि एकपछि अर्को गरेर प्रहार गर्ने र करेक्सन गर्ने कोसिस गरिएको छ।’
राष्ट्र बैंकको मौद्रिक नीति र सरकारको वित्तीय नीतिको बीचमा तालमेल कसरी कायम गर्ने भन्ने विषयमा धेरै मिहिनेत गरिएको उनले बताए । यद्यपि, समस्या समाधान भइसकेको भनेर आफूले दाबी नगर्ने उनले बताए । अझै धेरै समस्या रहेको तर अर्थ, प्रधानमन्त्री कार्यालय, राष्ट्र बैंक र सम्बन्धित निकायमा अर्थतन्त्रलाई कसरी गति दिन सकिन्छ भनेर धेरै छलफल गरिएको उनलेबताए ।
अहिलेको परिस्थितिमा सुशासन र सामाजिक न्यायको क्षेत्रमा सरकारले सकेजति काम गरेको उनको भनाइ छ। ‘यो परिस्थितिमा योभन्दा बढी गर्न सकिन्थ्यो भन्नेमा मैले देख्दिनँ,’दाहालले भने।
प्रतिक्रिया