नेम्वाङको आज राजकीय सम्मानसहित अन्त्येष्टि गरिने



काठमाडौं।

संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि आज ११ बजे गरिने भएको छ। पार्टी प्रचार विभागका सचिव गगन विष्टले नेम्वाङको अन्त्येष्टि आज ११ बजे राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा गरिने जानकारी दिएका छन्।

बुधबार दिउँसो १ बजेसम्म श्रद्धाञ्जली अर्पणका लागि च्यासलस्थित पार्टी कार्यालयमा नेम्वाङको पार्थिव शरीरलाई राखिएको थियो। त्यसपछि उनको शवलाई बालुवाटारस्थित निवासमा लगिएको थियो।

आज सरकारले शोक विदा दिएको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार नेम्वाङको निधनप्रति सार्वजनिक बिदा दिएको हो।

आज नेपालभरका सबै सरकारी कार्यालयहरु, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने छ।

संविधानसभाका अध्यक्ष एवं वर्तमान प्रतिनिधिसभा सदस्य श्री सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा मिति २०८०।०५।२६ गते बिहान असामयिक निधन भएको छ।

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहिबार  १० : ५३ बजे