विकासका नाममा राजनीति नगरौँ : मन्त्री गुरुङ



काठमाडौं ।

कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विकासका नाममा राजनीति गर्न नहुने बताउनुभएको छ ।

निर्वाचनका बेला भिन्न–भिन्न पार्टीबाट प्रतिस्पर्धा गरेता पनि विजयी भइसकेपछि सबैको साझा भएर काम गर्न सकेमात्रै विकासले गति लिने उहाँले बताउनुभएको हो । स्मार्ट सिटीका रूपमा घोषित भई कार्यान्वयनको चरणमा रहेको स्याङ्जाको वालिङ नगरपालिकाले वालिङमा आयोजना गरेको पालिकाको वर्तमान अवस्था र भावी गन्तव्य विषयक अन्तक्र्रिया कार्यक्रमलाई शनिबार वालिङमा सम्बोधन गर्नुहुँदै उहाँले विकासमा राजनीति घुसाउन नहुनेमा जोड दिनुभएको हो ।

“विकासका नाममा राजनीति गर्नहुन्न भन्ने मान्यताको पक्षधर हुँ”, उहाँले भन्नुभयो, “विकासमा सबैको अपनत्व भयो भने त्यो दिगो र प्रभावकारी हुन्छ ।” कहिलेकाहीँ विकासका नाममा राजनीति गर्ने र राजनीतिकै कारण विकास ठप्प हुने गरेका उदाहरण प्रशस्तै देखिने गरेको उहाँको भनाइ थियो ।

उहाँले केन्द्र, प्रदेश र स्थानीय गरी तीनवटै सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्वको भावनाअनुरुप काम गर्न प्रतिबद्ध रहेको बताउनुभयो । “तीन तहका सरकारबीच आपसी समन्वयको अभावले विकास निर्माणका कार्य हुन नसकेका कुरा आउने गरेका छन्”, उहाँले भन्नुभयो, “केन्द्रको जनप्रतिनिधिको तर्फबाट म प्रदेश र स्थानीय तहसँग समन्वय गर्दै अगाडि बढ्न तयार छु ।”

निर्वाचनका बेला मतदातामाझ गरेका प्रतिबद्धतालाई पाँच वर्षको अवधिसम्ममा पूरा गरेरै छाड्ने प्रतिबद्धता उहाँले जनाउनुभएको छ ।

कार्यक्रममा गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री सरस्वती अर्याल तिवारीले समाज रुपान्तरण गर्ने दायित्वका साथ निरन्तर लागिरहेको बताउनुभएको छ । उहाँले केन्द्र सरकार र स्थानीय सरकारसँग समन्वय गर्दै विकासका गतिविधि नागरिकले महसुस हुने गरी काम गर्ने दाबी गर्नुभयो । गण्डकी प्रदेशसभा सदस्य भोजराज अर्यालले दलगत स्वार्थभन्दा माथि उठेर विकास निर्माणमा सहभागी हुनुपर्ने बताउनुभयो ।

वालिङको विकासका लागि नगरपालिकाले मात्रै नभई यहाँका नागरिकसँग भएका अमूल्य अनुभव, सल्लाह सुझावलाई ग्रहण गरी आगामी दिनमा योजना बनाउन सकियोस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको नगरप्रमुख कृष्ण खाणले बताउनुभयो । नगरको विकासमा सबैको भावनालाई समेटेर सामूहिक ढङ्गबाट छलफल गर्नका लागि अन्तक्र्रियाले महत्त्वपूर्ण टेवा पुग्ने उहाँले बताउनुभयो ।

वालिङमा जन्मेर देशका विभिन्न सङ्घसंस्था तथा कार्यालयमा लामो समय अनुभव सँगाल्नुभएका व्यक्तिहरूका बीच सामूहिक छलफल तथा अन्तक्र्रियाबाट निस्केको निचोडलाई नगरपालिकाले सम्पत्तिका रूपमा ग्रहण गरी कार्यान्वयनको चरणमा लैजाने उपप्रमुख कविता तिवारी गैरैले बताउनुभयो । विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्नुभएका विषयविज्ञले दिनुभएको सुझाव र राजनीतिक नेतृत्वको प्रतिबद्धतासहित अगाडि बढ्दा वालिङमा उपलब्धिहरू देखिने उहाँले दाबी गर्नुभयो ।

 

प्रकाशित मिति : २४ भाद्र २०८०, आइतबार  ९ : ५० बजे