मिर्गौलाको पत्थरी निकाल्न अपरेसन गर्दा बिरामीको मृत्यु, डाक्टरविरुद्ध उजुरी दिने तयारी



कैलालीको धनगढीस्थित स्वस्तिक अस्पतालमा मिर्गाैलामा रहेको पत्थरी निकाल्न शल्यक्रिया (अपरेसन) गर्ने क्रममा बिरामीको मृत्यु भएको छ।

कञ्चनपुरको बेलौरी नगरपालिका–१० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरीको उपचारका क्रममा मृत्यु भएको हो।

पत्थरी झिक्न अपरेसन गर्ने क्रममा अत्यधिक रक्तस्राव भएको थियो। पारिवारिक स्रोतका अनुसार चिकित्सकले मिर्गौला फाल्नुपर्ने बताएको र त्यसपछि फेरि अपरेसन गरिएको थियो।

त्यस क्रममा चौधरीको मृत्यु भएको हो।

चौधरीका दुवै मिर्गौलामा पत्थरी थियो। अस्पतालमा शुक्रबार भर्ना गरिएका उनको उपचारमा चिकित्सकले लापरबाहीका गरेको आरोप छ।

अस्पतालका अध्यक्ष महेश जोशीले अपरेसनका क्रममा अत्यधिक रक्तस्राव भएको र बायाँ मिर्गौला झिक्नुपरेको बताए। मृतकका आफन्तहरूले घटना छानबिन गरी लापरबाही गर्ने चिकित्सकलाई कारबाही गर्न माग गरेका छन्।

पीडित परिवारले सत्यतथ्य छानबिन माग गर्दै जिल्ला प्रहरी कार्यालय कैलालीमा अस्पताल र डाक्टरविरुद्ध उजुरी दिन तयारी गरेको छ।

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार  २ : ४३ बजे