काठमाण्डौ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेर बाँकेको पिछडिएको गाउँपालिका नरैनापुरका अध्यक्ष इश्तियाक अहमद शाहले शिक्षा र स्वास्थ्यका लागि विशेष बजेट माग गर्नुभएको छ । सुर्खेतबाट काठमाडौँ फर्किने क्रममा सोमबार अपराह्न नेपालगन्ज पुग्नुभएका प्रधानमन्त्री प्रचण्डलाई भेटेर नरैनापुरका अध्यक्ष शाहले सो माग गर्नुभएको हो ।
गाउँपालिकाका अध्यक्ष शाहले नरैनापुरको शिक्षा, स्वास्थ्य, कृषि र विकास निमार्णका लागि बजेट निकै कम विनियोजन भएको जनाउँदै विशेष गरी शिक्षा र स्वास्थ्यको अवस्था निकै जटिल रहेकोले त्यसका लागि विशेष बजेट माग गरिएको बताउनुभयो । उहाँले गत वर्ष सुख्खा भएको पालिकाले कुनैपनि विशेष राहत नपाएको गुनासो समेत प्रधानमन्त्रीसँग गरिएको जनाउँदै स्वास्थ्य र शिक्षामा बजेट थप गरिदिन माग गर्दै इलाका प्रशासन कार्यालय समेत सञ्चालनका लागि व्यवस्था मिलाउन आग्रह गरिएको बताउनुभयो ।
अध्यक्ष शाहका अनुसार प्रधानमन्त्री प्रचण्डले सरकारले पिछडिएका क्षेत्रको विकासका लागि विशेष ध्यान दिएको जनाउँदै नरैनापुरका लागि बजेट थप गराउने र इलाका प्रशासन समेत छिटै सञ्चालन गराउने आश्वासन दिनुभएको थियो ।
नरैनापुर गाउँपालिकाका प्रेस सल्लाहकार आलम खानले प्रधानमन्त्रीसँग नरैनापुरका जनप्रतिनिधिको टोलीको भेट निकै सकारात्मक भएको र प्रधानमन्त्रीले नरैनापुरको विकासका लागि आवश्यक बजेटको व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गर्नु भएको बताउनुभयो । प्रधानमन्त्रीसँगको भेटघाटमा अध्यक्ष शाहसँगै नरैनापुर ४ का वडाध्यक्ष मनोज शर्मा, ५ का वडाध्यक्ष कृष्ण चन्द्र मौर्य, अध्यक्षका स्वकीय सचिव विरजेन्द्र यादव, लेखापाल प्रकाश अधिकारी लगायतको सहभागिता रहेको थियो ।
यसैगरी, प्रधानमन्त्री प्रचण्डले नेपालगन्ज उद्योग वाणिज्य सङ्घका नवनिर्वाचित पदाधिकारीहरूलाई भेटेर बधाई ज्ञापन गर्नुभएको थियो । सो अवसरमा नवनिर्वाचित अध्यक्ष टङ्क बहादुर धामीले नेपालगन्ज पश्चिम नेपालको प्रमुख औद्योगिक र व्यावसायिक हब भएकोले यसलाई औद्योगिक राजधानी बनाएर अगाडी लैजान प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु भएको थियो ।
प्रतिक्रिया