कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार साउन २८ सम्म नेपालले ३० मेट्रिक टन गोलभेंडा भारत निर्यात गरिसकेको छ। नेपालमा उत्पादन भएको गोलभेंडा काकडभिट्टा र भैरहवा नाकाबाट भारत निर्यात भइरहेको मन्त्रालयले जनाएको छ।
नेपालले गोलभेंडा, हरियो मटरकोसा, हरियो खुर्सानी लगायत तरकारीलाई भारतको प्लान्ट क्वारेन्टिन अर्डर सूचीमा समावेश गरी निकासीका लागि सहजीकरण गर्न भारतलाई लामो समयदेखि अनुरोध गर्दै आएको थियो। तर, भारतले नेपालबाट निर्यात हुने तरकारीको क्वारेन्टिन र परीक्षणलाई कारण देखाउँदै नाकामा अवरोध गर्दै आएको छ।
यद्यपि भारतमा पछिल्लो पटक गोलभेंडाको मूल्य उकालो लाग्न थालेपछि नेपालबाट निर्यात हुने गोलभेंडा सहजै जान दिएको थियो। गत बिहीबार भारतीय अर्थमन्त्री निर्मला सीतारमणले गोलभेंडाको मूल्यवृद्धि रोक्न नेपालबाट गोलभेंडा आयात गर्न लागेको जानकारी संसद्लाई गराएकी थिइन्। भारतमा खराब मौसम तथा रोगकीराका कारण यस वर्ष गोलभेंडाको उत्पादन खस्किँदा विभिन्न शहरमा मूल्य प्रतिकिलो भारतीय रुपैयाँ २०० नाघेको थियो।
भारतले शर्त तोकेर निश्चित समयलाई नेपालबाट गोलभेंडा आयात खुला गरेको जानकारी दिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। यसै अनुसार गोलभेंडा भारत निर्यात भइरहेको मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ।
गोलभेंडा निकासीलाई निरन्तरता दिन सके व्यापार घाटा कम हुने तथा नेपाली किसानको बजार विस्तार हुन्छ। यद्यपि भारतमा गोलभेंडा निर्यात बढेसँगै आन्तरिक बजारमा गोलभेंडाको मूल्य बढिरहेको छ।
प्रतिक्रिया