नेपाल-भारत सम्बन्ध स्थायीरूपमा कसैले पनि बिगार्न सक्दैन : ओली



काठमाडौं ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल–भारतबीचको सम्बन्ध इतिहासले बनाएको बताएका छन् । भारतको ७६औँ गणतन्त्र दिवसका अवसरमा नेपाल–भारत मैत्री समाजले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले दुई देशको सम्बन्धलाई स्थायीरूपमा रहेकाले कसैले पनि बिगार्न नसक्ने बताए ।

भारतसँगको सम्बन्धलाई साँच्चैको मित्रताका रूपमा अगाडि बढाइरहेको अध्यक्ष ओलीको भनाइ छ । उनले दुई देशबीचको सम्बन्ध अत्यन्त पुराना, प्रकृतिले दिएका र इतिहासले बनाएका मित्रको सम्बन्ध रहेको बताए ।

‘नेपाल र भारतबीचको सम्बन्ध कहिलेकहिले, कुनै–कुनै कारणले, थोरै घोचपेच भए पनि यस सम्बन्धलाई स्थायीरूपमा सधैंका लागि कसैले पनि बिगार्न सक्दैन,’ ओलीले भने, ‘यो प्रकृतिले बाँधेको सम्बन्ध हो । यो समाजले बनाएको सम्बन्ध हो । यो कसैले निर्माण गरेकोभन्दा, कुनै राज्यले निर्माण गरेकोभन्दा, त्यसभन्दा अगाडिको सम्बन्ध हो ।’

उनले पारस्परिक सहयोग र पारस्परिक लाभका आधारमा एकअर्कालाई सहयोग गरिरहेकोसमेत बताए । ओलीले नेपाल र भारतबीच देखिएका कतिपय विषयलाई आपसी छलफल गरेर समाधान गर्नुपर्ने धारणा राखे ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहिबार  ९ : १५ बजे