पाँच दिनदेखि सुदूरका पहाडी जिल्ला जोड्ने राजमार्ग अवरुद्ध



साउन २२ गते भीमदत्त राजमार्गको बूढीतोलामा पहिरो गएको थियो। करीब चार सय मिटर लामो पहिरो राजमार्गमा क्षति भएको छ। पहिरोका कारण एक सय मिटर राजमार्ग पूर्ण रुपमा क्षति भएको सडक डिभिजन कार्यालय, महेन्द्रनगरले जनाएको छ।

दुवै तर्फबाट पहिरो पन्छाउने काम भइरहेको जनाएको छ। तर, पानी परिरहेकाले पहिरो पन्छाउन कठिनाइ भएको छ पहिरो पन्छाएर सडकमा आवागमन सुचारु बनाउने काम जारी रहे पनि निरन्तरको वर्षाले काम प्रभावित भइरहेको सडक डिभिजन कार्यालय महेन्द्रनगरका इञ्जिनीयर हरिप्रसाद सुवेदीले बताए।

“गएको पहिरो र भासिएको सडकखण्डको ८० प्रतिशत भागलाई आवागमन गर्न सकिने बनाइसकेका छौं,” सुवेदीले भने, “पूरै पहिरो पन्छाई बाटो सुचारु गर्न वर्षामा भर पर्ने देखिएको छ।”

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लालाई जोड्ने एक मात्र यो सडक अवरुद्ध बन्दा पहाडी र तराईका जिल्लाको यातायात सम्पर्क टुटेको छ। योसँगै खाद्यान्न, औषधि, साग, तरकारीलगायत उपभोग्य सामानको सहज आपूर्तिमा समस्या सिर्जना हुन थालेको छ।

बाटो अवरुद्ध हुँदा ठूलो सङ्ख्याका मालवाहक यातायातका साधन बीच बाटोमै रोकिएका छन्। यो राजमार्गमा दैनिक साना ठूला गरी दुई हजारभन्दा बढी यातायातका साधनको अवागमन हुने गर्छ।

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  १२ : ३५ बजे