नक्कली शैक्षिक प्रमाणपत्र बनाएर चिकित्सक बनेको आरोपमा थप दुई जना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा मोरङका मनित चौधरी र काठमाडौंस्थित इशान अस्पतालमा कार्यरत श्रद्धा शिल्पकार रहेका सीआईबीका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए। उनका अनुसार चौधरीलाई आज बिहान मोरङबाट र शिल्पकारलाई गए राति काठमाडौंबाट पक्राउ गरिएको हो।
नक्कली शैक्षिक प्रमाणपत्र बनाउने विरुद्ध ब्यूरोले अपरेशन थालेको छ। बिहीबार पनि ब्यूरोले पाँच जनालाई पक्राउ गरेको थियो।
सीआईबीले हिजो मोरङ-३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित सुनिल शर्मालाई पक्राउ गरेको थियो। मेडिकल कलेजको सम्बन्धन, सीट निर्धारण र शिक्षण शुल्कका विषयमा विवादमा आइरहने शर्माको आईएस्सीको प्रमाणपत्र नक्कली देखिएकाले सीआईबीले अनुसन्धानका लागि पक्राउ गरेको थियो।
प्रतिक्रिया