आँखा पाक्ने रोग बढ्दै गएपछि भरतपुरका विद्यालय बन्द



आँखा पाक्ने रोग फैलिएपछि भरतपुर महानगरपालिकाले पाँच दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ। भरतपुर महानगरपालिकाले आइतबार एक सूचना जारी गर्दै सबै सामुदायिक र संस्थागत विद्यालय बन्द गरेको हो।

हिउँदे र वर्षे बिदाबाट मिलान गर्ने गरी २२ गतेदेखि २६ गतेसम्म सबै विद्यालय बन्द गरिएको नगर शिक्षा अधिकारी महेन्द्रप्रसाद पौड्यालले जानकारी दिए। आँखा पाक्ने रोग (एडिनो भाइरस) को संक्रमण चितवनमा बढ्दो छ।

यस्तै, आँखा पाक्ने समस्या बढेकै कारण रत्ननगर नगरपालिकाका पनि सबै विद्यालय बन्द हुने भएका छन्। रत्ननगरले आइतबार एक सूचना जारी गर्दै सोमबारदेखि साउन २४ गतेसम्म विद्यालय बन्द गर्न अनुरोध गरेको हो।

“आँखाको समस्या बढ्दै गएको हुँदा साउन २२ देखि २४ गतेसम्म विद्यालय बन्द गर्नुहुन र बन्दको सूचना सम्बन्धी जानकारी गर्नुपूर्व आँखाको सुरक्षा सम्बन्धी सचेतीकरण समेत गर्न गराउनु हुन नगर कार्यापालिकाको साउन २१ गतेको निर्णय अनुसार अनुरोध छ,” नगर शिक्षा अधिकारी बद्रीनारायण शर्माले जारी गरेको सूचनामा उल्लेख छ।

यसअघि खैरहनी नगरपालिकाले पनि शैक्षिक संस्था बिदा दिने निर्णय गरिसकेको छ। खैरहनीमा आइतबार र सोमबार बिदा दिइएको छ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  ९ : ११ बजे