नेपाल पत्रकार महासङ्घ गुल्मीका सदस्य तथा पत्रकार कृष्ण ज्ञवालीको निधन



काठमाडौं।

नेपाल पत्रकार महासङ्घ गुल्मीका साधारण सदस्य तथा पत्रकार कृष्ण ज्ञवाली (अञ्जान) को निधन भएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका–१ निवासी ज्ञवालीको ५५ वर्षको उमेरमा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

केही दिन यता बिरामी परेका ज्ञवाली उपचारका लागि बुटवल गएको र बुटवलमा उपचार गराएर थप उपचारको लागि काठमाडौँ जाने तयारी गरिरहँदा उपचारको क्रममा उहाँको निधन भएको स्थानीय प्रेम भण्डारीले जानकारी दिनुभयो ।

जिल्लाको ग्रामीण क्षेत्रमा रहेर पत्रकारिता गर्दैआएका ज्ञवाली विभिन्न सञ्चार माध्यममा काम गर्दै आउनुभएको थियो । गुल्मीबाट पत्रकारिता सुरु गर्नुभएका ज्ञवालीले धेरै वर्ष पोखरामा रहेर विभिन्न सञ्चार माध्यममा काम गर्दैआउनुभएको थियो ।

ज्ञवाली पुनः गुल्मी जिल्लामा आएर केही वर्ष यता ग्रामीण क्षेत्रमा रहेर पत्रकारिता गर्दै आउनुभएको थियो । उहाँ प्रेस चौतारी लुम्बिनी प्रदेशको सदस्य समेत हुनुहुन्थ्यो ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  ५ : १४ बजे