संसदको गतिरोध अन्त्य गर्न प्रचण्ड, ओली र देउवा छलफलमा



काठमाडौं ।

प्रतिनिधि सभाको बैठक अगाडि कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेता छलफलमा जुटेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक-पटक दिल्ली गएको भन्ने अभिव्यक्ति दिएपछि एमालेसहितका विपक्षी दलले राजीनामा माग्दै संसद अवरोध गर्न लागेपछि सत्ता पक्ष छलफलमा जुटेको हो।

आइतबार बिहान सिंहदरबारमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, प्रमुख प्रतिपक्ष दल एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। संसदको गतिरोध अन्त्य गर्न र एमालेले संसदमा उठाएका मागको सन्दर्भमा छलफलमा जुटेको ओली सचिवालयले जनाएको छ।

बुधबारको बैठकमा एमाले, रास्वपा र राप्रपाले ‘उहाँ (भारतीय नागरिक प्रितम सिंह) ले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मेहनत गर्नुभयो। धेरैचोटी दिल्ली जानु पनि भयो। काठमाडौँका पार्टीहरुलाई, नेताहरुलाई पार्टीहरुसँग पनि उहाँ लगातार छलफल गर्नुभो।’ भन्ने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर संसद अवरोध गरेका थिए। बुधबार कार्यसूचीमा प्रवेश नगरी शुक्रबारसम्म स्थगित भएको बैठक शुक्रबार पनि पुन: सूचना टाँस गरी स्थगित भएको हो।

आजपनि नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बोलाइएको बैठक अवरोध गर्ने तयारी गरेको छ। एमालेले प्रधानमन्त्रीको राजीनामा नआएसम्म संसद चल्न नदिने अडान राख्दै आएको छ भने सत्ता गठबन्धनले संसदमा फेस गर्ने निर्णय गरेका छन्। सभामुख देवराज घिमिरेले समन्वय गर्न पहल गरेपनि दलहरु आ-आफ्ना अडानमा लागेका छन्।

एमाले महासचिव शंकर पोखरेलले प्रधानमन्त्री प्रचण्डले नैतिक धरातल गुमाइ नै सकेको बताए। ‘प्रधानमन्त्रीलाई कसैले विवादमा पार्न खोजेको होइन, उहाँ आफैं विवादमा पर्नु भएको हो। मुलुकको प्रधानमन्त्री र मुलुकको स्वाधीनता, स्वाभिमान र राष्ट्रहितको नेतृत्व गर्ने व्यक्तिले यसप्रकारको अभिव्यक्ति दिनु लज्जास्पद र आपत्तिजनक हो।’ उनले अन्नपूर्ण पोस्ट्सँग भने, ‘नैतिक रूपमा उहाँले अब प्रधानमन्त्री पदमा बसिरहने आधार गुमाउनुभयो। नैतिकताको प्रश्न सत्ता गठबन्धनसँग पनि जोडिन्छ। नैतिकताको प्रश्न स्वयं प्रधानमन्त्रीसँग जोडिन्छ। उहाँ कसरी प्रस्तुत हुनुहुन्छ, त्यही आधारमा हाम्रो रणनीति तय हुन्छ। हामी हाम्रा कुरा राख्छौ, उहाँ (प्रधानमन्त्री) कुन रूपमा अगाडि बढ्नुहुन्छ, त्यही रूपमा हामी अगाडि बढ्छौं।’

राष्ट्रलाई कमजोर बनाइ राख्ने हो भने त प्रधानमन्त्री राखी राख्दा फरक नपर्ने तर देशमा स्वाधीनता, राष्ट्रहित, स्थायित्व कायम गर्ने, हो भने प्रचण्डको नेतृत्वमा सम्भव नभएको महासचिव पोखरेलले बताए। आजको बैठकमा ३ वटा विधेयक प्रस्तुत हुने सम्भावित कार्यसूची छ।

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  १२ : १८ बजे