राष्ट्रपतिको उपचारमा लागेको ५५ लाख खर्च भुक्तानी गर्न अर्थ मन्त्रालयलाई ताकेता



काठमाडौं ।

गएको वैशाखमा भारतमा उपचार गर्न गएका राष्ट्रपति रामचन्द्र पौडेलकाे उपचारवापत लागेकाे प्लेन भाडालगायतकाे खर्च निकासा गर्न अर्थ मन्त्रालयलाई पत्रमार्फत ताकेता दिइएकाे छ ।

गएका वैशाख ६ देखि वैशाख १७ गतेसम्म भारतमा उपचार गराएर फर्किएको राष्ट्रपति पौडेलको उपचार खर्च वापतको रकम नेपाल सरकारको स्रोतबाट कट्टा हुने गरी भुक्तानी मिलाउन अर्थ मन्त्रालयलाई पत्र काटिएको छ । परराष्ट्र मन्त्रालयले काटेको पत्रमा अर्थ मन्त्रालयलाई ‘राष्ट्रपतिको उपचार खर्चलगायत अन्य खर्चसमेत’ भनेर जोडिएको छ ।

राष्ट्रपतिको स्वकीय सचिवालयले भने गएको वैशाख १९ गते एक प्रेस नोट जारी गर्दै राष्ट्रपतिको उपचारमा भएको खर्च राष्ट्रपति स्वंमले ब्यहोर्ने उल्लेख गरिएको थियो । असार १८ गते काटिएको पत्रमा राष्ट्रपतिको उपचार खर्च वापतको ५५ लाख दुई हजार दुई सय उनासी रुपैयाँ भुक्तानी दिन अर्थ मन्त्रालयलाई परराष्ट्र मन्त्रालयले भुक्तानी दिन भनेको हो ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार  १० : ३५ बजे