सिरिजङ्घाका विद्यार्थीले कक्षा १२ सम्म निःशुल्क पढ्न पाउने



काठमाडौं ।

ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा कक्षा १२ सम्म नै अध्ययन गर्ने विद्यार्थीले निःशुल्क पढ्न पाउने भएका छन् । गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा कक्षा १२ सम्म अध्ययन गर्ने सबै विद्यार्थीले निःशुल्क रुपमा पढ्न पाउने भएका हुन् ।

आगामी आर्थिक वर्षका लागि गाउँपालिका अध्यक्ष लालकृष्ण चौहानले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयमा अध्ययन गर्ने सबै विद्यार्थीका लागि कक्षा १२ सम्म नै निःशुल्क पठनपाठनको व्यवस्था मिलाइएको छ । कक्षा ११ र १२ लाई यसअघिदेखि नै निःशुल्क गरेको गाउँपालिकाले आगामी आवका लागि पनि निरन्तरता दिर्ने भएको हो ।

यस्तै पालिकाभित्रका ८ वटै वडाका सामुदायिक विद्यालयबाट माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सर्वोत्कृष्ट नतिजा ल्याउने चार जना विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउने पनि गाउँपालिकाले निर्णय गरेको छ ।

गाउँपालिकाले प्राविधिक विधामा प्रविणता प्रमाणपत्र तह वा सो सरहको शिक्षा अध्ययनका लािग छात्रवृत्ति दिने कार्यक्रमलाई कार्यान्वयन गर्ने भएको हो ।

त्यस्तै सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना दर वृद्धि गर्ने उद्देश्यले कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने विद्यार्थीका लागि प्रत्येक वर्ष पोसाक र स्कुल झोला वितरण गर्नेसमेत गाउँपालिकाले नीति अवलम्बन गरेको छ ।

‘प्रविधिमैत्री कक्षा, आजको आवश्यकता’ भन्ने नाराका साथ माध्यामिक विद्यालयमा सेवा करार कार्यविधिअनुसार कम्प्युटर शिक्षकको व्यवस्था गरी कम्प्युटर कक्षा सञ्चालन गर्ने पनि गाउँपालिकाले योजना बनाएको छ ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  २ : ५८ बजे