मिटरब्याज मार्फत् ठगेको भन्दै भैरहवाका व्यापारीको घर विप्लव समुहको कब्जामा



काठमाण्डौ ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले भैरहवामा रमानन्द बानियाँको घर कब्जामा लिएका छन् । शनिबार दिउँसो बानियाँको घर घेराउ गर्दै उनीहरुले कब्जामा लिएका हुन् ।

सिद्धार्थनगर नगरपालिका वडा नं. ५ मिलनचोकमा रहेको बानियाँको घरमा शनिबार दिउँसो पुगेका विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले मिटरब्याज पीडितहरुको आग्रहमा उनीहरुले घर घेराउ गरेका थिए । विप्लव समूहका जिल्ला नेता वीरेन्द्र विकले मिटरव्याज पीडित ऋणीको उपस्थितिमा शनिबार भैरहवास्थित मिलन चोक र बुद्धचोकमा रहेको बानियाँको घर घेराउ गरेका हुन् ।

घर कब्जामा लिने क्रममा नेकपाले सभाको समेत आयोजना गरेको थियो । सभामा नेकपामा केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला ईन्चार्ज सरद सी, जिल्ला सेक्रेटरी बिरेन्द्र सी, जिल्ला सचिवालय सदस्य शिशिर सी लगायतका नेताहरूले सम्बोधन गरेका थिए ।

बानियाँले मिटरब्याजमा पैसा दिएर ठगी गरेको भन्दै ६२ जनाले जिल्ला प्रशासन कार्यालयमा उजुरी पनि दिएका छन् । उजुरी दिएपनि प्रशासनले बेवास्ता गरेपछि ऋणीहरुले विप्लव नेतृत्वको नेकपामा लिखित उजुरी दिएका थिए । बानियाँले रुपन्देहीका झण्डै डेढ सयभन्दा बढी किसानहरुलाई न्युनतम ७५ हजारदेखि १० लाखसम्म ऋण दिएर कपाली तमसुक, दृष्टिबन्धक गराएर किसानका करोडौं रकम ब्याजका नाममा ठगेको उजुरी आएको नेकपाको दावी छ ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  १ : ०४ बजे