गोरखामा जन्ती बोकेको गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु



काठमाडौं – गोरखामा जन्ती बोकेको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गोरखाका एक प्रहरीले जानकारी दिएका छन्।

राति १ बजेतिर सहिदलखन गाउँपालिका ३ को पातले खोलामा बस दुर्घटना भएको हो । प्रदेश ३ –०१–०२३ च २४२७ नम्बरको बस दुर्घटनाका घाइतेको उद्धारमा रातको समय भएकाले ढिलाइ भएको थियो ।

अहिले घटनास्थलमा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ। घाइते सबैलाई उपचारका लागि तनहुँ पठाइएको र केही डिस्चार्ज समेत भएको उनले बताए।

‘दुर्घटनामा दुलहादुलहीचाहिँ पर्नुभएको छैन। दुर्घटनामा मृत्यु हुनेको पहिचान हुन बाँकी छ। अप्ठेरो बाटो र मध्यरातिको घटना भएकाले उद्धारमा पनि कठिनाइ भयो। अहिले सुरक्षाकर्मीहरूले भीरमा अड्किएका शव डोरीको सहयताले निकाल्दै हुनुहुन्छ,’ उनले भने, ‘घाइतेहरूलाई तनहुँको आँबुखैरेनी लगिएको छ।’

दुर्घटनामा परेर चार पुरुष र एक महिलाको मृत्यु भएको हो । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  ८ : ५१ बजे