पहिरोले उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध



सङ्खुवासभा ।

सङ्खुवासभामा अविरल वर्षासँगै आएको बाढीपहिरोले उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको छ । लगातारको वर्षाले उत्तर–दक्षिण कोशी राजमार्गअन्तर्गतको खाँदबारी–किमाथाङ्का सडकखण्ड अवरुद्ध भएको हो ।

वर्षासँगै आएको बाढी पहिराले मकालु र भोटखोला गाउँपालिका जोड्ने खाँदबारी–किमाथाङ्का सडक ठप्प भएको हो । गए राति वर्षासँगै आएको पहिराले उत्तर–दक्षिण कोशी राजमार्गअन्तर्गतको खाँदबारी–किमाथाङ्का सडकखण्ड अवरुद्ध भएको उत्तर–दक्षिण कोशी सडक कार्यालयका प्रमुखले जानकारी दिए ।

उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध भएपछि मकालु र भोटखोला गाउँपालिकामा यातायात सेवा ठप्प भएको छ । मकालु गाउँपालिका–५ को मुढे र मकालु–३ मा पहिरो खसेको छ । मकालु गाउँपालिका–५ मा मुढे पहिरो हटाउन थालिएको सडक कार्यालयका प्रमुखले बताए ।

अहिले पनि त्यस क्षेत्रमा निरन्तर वर्षा पहिरो खसेका कारण हटाउन अझै केही दिन लाग्ने उत्तर–दक्षिण सडक कार्यालयका प्रमुख कोइरालाको भनाइ छ । पहिरो खस्ने क्रम नरोकिएका कारण सडक कहिले खुल्छ भन्ने यकिन हुनसकेको छैन ।

सडक अवरुद्ध भएपछि मकालु र भोटखोला गाउँपालिकासँग सम्बन्ध टुटेको छ । पहिराका कारण सदरमुकाम खाँदबारीबाट मकालु र भोटखोला जाने दर्जनौँ सवारी बीचबाटैमा अलपत्र परेका छन् ।

यसैबीच, सङ्खुवासभामा बाढीपहिरोका कारण हालसम्म १७ घरपरिवार विस्थापित भएका छन् । गत शनिबार राति अविरल वर्षसँगै आएको बाढीका कारण जिल्लाका विभिन्न स्थानका १७ घरपरिवार विस्थापित भएका हुन् ।

पाँचखपन नगरपालिका, चैनपुर नगरपालिका र सभापोखरी र मकालु गाउँपालिकामा १७ घर विस्थापित भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  ११ : ३० बजे