मदन भण्डारीले राष्ट्रियताको लागि खेल्नुभएको भूमिका प्रशंसनीय छ : पूर्व राष्ट्रपति भण्डारी



काठमाडौं ।

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीको विचार स्मरणीय रहेको बताएकी छन्। ७२औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा उनले नेपाली राजनीतिमा मदन भण्डारीको भूमिका प्रशंसनीय रहेको बताइन्।

‘जननेता मदन भण्डारीले २०४६ सालको जनआन्दोलनको एक सूत्रधार हुनुहुन्थ्यो। आन्दोलनको सफलतापछि राष्ट्रियताको लागि उहाँले खेल्नुभएको भूमिका प्रशंसनीय छ। उहाँले समयको पदचापलाई स्पष्टरुपमा बुझ्न सक्ने नवीन विचारक हुनुहुन्थ्यो,’ उनले भनिन्।

उनले नेपाली लोकतन्त्रको मौलिक अभ्यास र अनुभवसमेतका आधारमा मदन भण्डारीले नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवादको प्रतिपदान गरेको बताइन्। यही कारणले उहाँलाई अद्वितीय विचारको रूपमा नेपाली समाजमा ग्रहण गरेको उनको भनाइ छन्। ‘उहाँले देख्नुभएको बाटोमा हामी निष्ठापूर्वक तरिकाले अगाडि बढिरहेका छौं। जबज कुनै एउटा राजनीतिक दलको विचारमात्र नभएर नेपाली माटोको सुवास आउने मौलिक सिद्धान्त हो,’ उनले भनिन्।

यसैबीच पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी फाउन्डेसनद्वारा स्थापित मदन भण्डारी रूपान्तरण राष्ट्रिय नेतृत्व पुरस्कार प्रदान गरेकी छन्। यस वर्ष सो पुरस्कार हेटौंडा उपमहानगरपालिका-४ प्रतिभानगर, मकवानपुरकी निरुकुमारी मगरलाई र मदन भण्डारी राष्ट्रिय पुरस्कार सोलुखुम्बु सोलुदूधकुण्ड नगरपालिका-४ फाप्लु निवासी डा मिङमार ग्याल्जेन शेर्पालाई प्रदान गरियो।

प्रकाशित मिति : १४ असार २०८०, बिहिबार  ६ : २१ बजे