काठमाडौं : नेपाली कांग्रेसले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । शनिबार पार्टी केन्द्रीय कार्यालयमा बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
पौडेल ८ दलीय गठबन्धनका तर्फबाट साझा उम्मेदवार बन्ने भएका छन् । आज राष्ट्रपति चयनका लागि मनोनयन हुँदैछ । पौने १ बजे गठबन्धनका सबै नेताहरु संसद भवन नयाँ बानेश्वरमा जम्मा हुने र २ बजेपछि मनोनयन दर्ता गराउने कार्यक्रम तय भएको छ ।
यो संगै नेता पौडेलले नेपाली कांग्रेसको मात्र नभई सबै राजनीतिक दलले आफूमाथि सद्भाव राखेको टिप्पणी गरेका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै पौडेलले सो कुरा बताएका हुन्।
‘कांग्रेसले मात्र होइन, सबै पार्टीले म माथि सद्भाव राखेका छन्। नेपालको राजनीतिक जगतले ममाथि सद्भाव राखेका छन्,’ पौडेलले भने, ‘सबै दलका संसदमा रहेका प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका साथीहरुको सद्भाव भएको मैले पाएको छु।’
‘नेपालको संविधानको संरक्षण, नेपालको राष्ट्रियतको संरक्षण र नेपाली जनताको रेखदेख गर्ने अधिकार र जिम्मेवारी मलाई आउन लागेको छ,’ पौडेलले भने, ‘म सबै नेपाली दाजुभाई दिदिबहिनीलाई अनुरोध गर्न चाहन्छु, हामी सबै मिलेर यो राष्ट्र र संविधानको रक्षा गरौं। ७० वर्षसम्म संघर्ष गरेर प्राप्त गरेको व्यवस्थाको महत्व धेरै छ। यसमाथि खेलवाड गर्नेप्रति सबै नेपाली सजग हुनुपर्छ।’
साथै, उनले नेपालको संविधानको संरक्षण र रेखदेख गर्ने जिम्मा आफूले पाएको पनि बताए।
प्रतिक्रिया