काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारस्थित प्रधानमन्त्री निवासबाट बाहिरिएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा छलफल गर्न पुगेका ओली कुरा नमिलेपछि बाहिरिएका हुन्।
एमाले अध्यक्ष ओलीले १० पुसको सहमति तोड्न नमिल्ने भन्दै एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने प्रचण्डलाई जानकारी दिएको स्रोतले जानकारी दिएको छ। प्रधानमन्त्री प्रचण्डले भने राष्ट्रिय सहमतिमै उम्मेदवार बनाउन आग्रह गरेका थिए।
संसद भवनबाट बाहिरिएलगत्तै अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए । दुई घण्टा भएको भेटवार्तामा राष्ट्रपतिको उम्मेदवार चयनलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।
प्रधानमन्त्री दाहालका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाले दुई नेताबीच भएको छलफलका बारेमा भने आफूलाई जानकारी नभएको बताएका छन् ।
ओली बाहिरिएसँगै नेपाली कांग्रेसका नेताहरु बालुवाटार पुगेका छन् । अहिले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीको बैठक बस्दैछ ।
प्रतिक्रिया