एमालेले मनोनयन दर्ताको दिन मात्रै राष्ट्रपतिको उम्मेदवार टुंग्याउने



एमालेले मनोनयन दर्ताको दिन शनिबार बिहान मात्रै राष्ट्रपतिको उम्मेदवार टुंग्याउने भएको छ । प्रधानमन्त्री प्रचण्डसमक्ष एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको नाम लगेका केपी ओलीले शनिबार बिहान राष्ट्रपतिको उम्मेदवार टुंग्याउन सचिवालय बैठक राखेका हुन् ।

पार्टी केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले राष्ट्रपतिको उम्मेदवारबारे संस्थागत निर्णय गर्न शनिबार बिहान केन्द्रीय सचिवालयको बैठक बोलाइएको बताए । ‘सचिवालयका सदस्यहरूका लागि शनिबार बिहान बैठक बसेर राष्ट्रपतिको उम्मेदवारबारे निर्णय हुन्छ भनेर पूर्वजानकारी गराइसकिएको छ, त्यसअनुसार नै बैठक बसेर औपचारिक निर्णय हुन्छ,’ उनले भने । यद्यपि, अध्यक्ष ओलीले निकटस्थ नेताहरूसँग शुक्रबार पनि अनौपचारिक छलफल गर्ने तयारी गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डलाई नेपालको नाममा राष्ट्रिय सहमति जुटाउने गरी नाम दिएपछि ओली राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउने छलफल र भेटघाटमा सक्रिय छैनन् । नेपाल पुरानो गठबन्धन (कांग्रेससहित) ब्युँताउन सहमत नभए शनिबार बिहानको बैठकबाट उनकै नाममा निर्णय गर्ने तयारीमा ओली रहेको निकट स्रोतले बतायो । यस्तो अवस्थामा माओवादी पनि नेपाललाई राष्ट्रपतिमा स्विकार्न बाध्य हुने उनको बुझाइ छ ।

एमालेबाट राष्ट्रपतिमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा ‘बादल’, युवराज ज्ञवाली, उपमहासचिव विष्णु रिमाललगायतका नेता चर्चामा छन् । तर, कुनै पनि नेताले आफूलाई उम्मेदवारका रूपमा प्रस्टसँग उभ्याउन सकेका छैनन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ९ : ३३ बजे