प्रधानमन्त्री प्रचण्ड र ओलीबीच आज ‘निर्णायक’ वार्ता हुने



काठमाडौं– प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भावी राष्ट्रपतिका लागि लिएर आज निर्णायक वार्ता हुने भएको छ ।

अध्यक्ष प्रचण्डका अनुसार सो छलफल दिउँसो हुने भनिए पनि समय भने सार्वजनिक गरिएको छैन् ।

प्रचण्डले नेकपा (एस)का नेता माधवकुमार नेपाललाई भावी राष्ट्रपतिको रुपमा अगाडि सार्न माओवादी, नेकपा एस र जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) बीच भएको सहमतिका बारेमा जानकारी गराउँदै त्यसका लागि ओलीसँग छलफल गर्न लागेका हुन् ।

आज ओलीसँगको भेटमा सहमतिको आधारमा राष्ट्रपतिको उम्मेदवार तय गर्ने भन्ने बिषयमा छलफल हुने बताइएको छ । माओवादी महासचिव देव गुरुङले पनि नेताहरू सहमतिको आधार तय गर्न लागि परेको बताउँछन् ।

आज ओली र प्रचण्ड बिचको वार्ता सकारात्मक भए गठबन्धनमा सहमति जुट्ने नभए गठबन्धन टुट्ने आशङ्का गरिएको छ । एमाले अध्यक्ष ओलीलाई भेट्नु अघि प्रचण्ड कांग्रेससँग छलफलमा बस्ने छन् । आजै कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाको संयुक्त बैठक बस्ने तयारी भइरहेको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ९ : २३ बजे