अचानक माधव नेपाललाई किन राष्ट्रपति बनाउन चाहन्छन् ओली ?



काठमाडौं :

राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्ने विवादले धरापमा परेको सत्ता गठबन्धन कायमै रहला वा भत्किएला सम्भवतः आज टुंगो लाग्नेछ।

किनभने प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति निर्वाचनका विषयमा आज एमाले अध्यक्ष केपी शर्मा ओलीसँग ‘निर्णायक’ वार्ता गर्ने बताएका छन्।

यता सत्तारूढ नेकपा माओवादीसहित तीन दलले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति उम्मेदवारमा प्रस्ताव गर्ने भएका छन् । नेपालकाे नाममा राष्ट्रिय सहमति जुटाउन भाेलि एमाले र कांग्रेससँग संवाद गर्ने निर्णय भएकाे छ ।

नेपाललाई राष्ट्रपति उम्मेदवार बनाउन अर्काे सत्तारूढ दल एमाले पनि सकारात्मक छ । कांग्रेसले भने राष्ट्रपति आफूले पाउनुपर्ने दावी गरिरहेकाे छ । एमाले र माओवादी एक ठाउँमा आए राष्ट्पतिमा नेपालकाे दावेदारी बलियाे बन्नेछ । साथै अहिलेकाे सत्तारूढ गठवन्धन जाेगिन सक्छ ।

माधवकुमार नेपाललाई राष्ट्रपति बनाएपछि नेकपा एसलाई एमालेमा मिलाएर प्रतिनिधिसभामा सबैभन्दा ठुलो दल बन्ने केपी ओलीको रणनीति छ। यही रणनीतिअन्तर्गत उनले नेकपा एसका अध्यक्ष नेपाललाई राष्ट्रपतिमा प्रस्ताव गरेका हुन्। नेकपा एसलाई एमालेमा गाभ्न सके कांग्रेस र माओवादी केन्द्रबाहेक पनि सरकार बनाउन सकिने विश्लेषण ओलीको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्षलाई ओलीले आफूनिकट राखेका छन्। रास्वपा, राप्रपा जसपा, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सहितका दललाई मिलाएर नयाँ सरकार गठन गर्ने रणनीतिमा ओली रहेको माओवादी बुझाइ छ।

एमालेले राष्ट्रपति आफू अनुकूल बनाउन सके प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिने र दाहालेले पुन: विश्वासको मत पाउन नसक्ने अवस्थामा संविधानको धारा ७६ (२) अन्तर्गत वा ७६ (३) अनुसार ठूलो दलको हैसियतमा ओली नै प्रधानमन्त्री बन्नसक्ने माओवादी विश्लेषण छ।

सरकारको नेतृत्व पाए ओलीले फेरि पनि प्रतिनिधिसभा विघटन गरेर अघि बढ्न सक्ने भय माओवादी र कांग्रेसमा छ। आफूले भनेअनुसार राष्ट्रपति बन्ने अवस्था नभए एमालेले लोसपा अध्यक्ष महन्थ ठाकुर वा पूर्वप्रधानन्यायाधशीहरूमध्ये कसैलाई सो पदका लागि अघि सार्ने स्रोतको दाबी छ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ९ : १२ बजे