एक वर्षमा साढे पाँच सय विदेशी निष्कासित, सबैभन्दा धेरै चिनियाँ, दोस्रोमा अमेरिकी



नेपालका अध्यागमन अधिकारीहरूले गत वर्ष (सन् २०२२) नेपालबाट साढे पाँच सयभन्दा बढी विदेशी नागरिकहरूलाई “तोकिएको अवधि”सम्म नेपाल फर्कन नपाउनेगरी निष्कासन गरिएको जानकारी दिएका छन्।

उनीहरूका भनाइमा त्यसरी निष्कासन गरिएकामध्ये अधिकांश “भिसा नलिइकन” वा भिसा अवधि सकिएपछि “नवीकरण नगरिकन” नेपालमा बसिरहेका विदेशी नागरिक छन्।

त्यसबाहेक विभिन्न कसूरमा सजाय पाएका विदेशीलाई पनि “निश्चित अवधि नेपाल आउन नपाउनेगरी” फिर्ता पठाइएको छ।

त्यसरी निष्कासनमा परेका विदेशीमा नेपालका सिमाना जोडिएका छिमेकी मुलुकदेखि विभिन्न तीन दर्जनभन्दा बढी देशका भएको अधिकारीहरूको भनाइ छ।

उनीहरूलाई नेपालको अध्यागमन कानुनअनुसार निष्कासन गरेर त्यसको विवरण सुरक्षा निकायमा समेत पठाइएको अधिकारीहरूले बताए।

अध्यागमन विभागका सूचना अधिकारीसमेत रहेका निर्देशक कमलप्रसाद पाण्डेले दिएको जानकारी अनुसार सन् २०२२ मा नेपालबाट कुल ५६४ जना विदेशी नागरिकहरू निष्कासनमा परेका छन्।

त्यसमध्ये ५०४ जना भिसा अवधि सकिएर पनि नेपालमा विनाभिसा बसोबास गरिरहेकाहरू छन्।

अन्य ६० जना चाहिँ विभिन्न कसूरमा सजाय पाएका व्यक्तिहरू रहेको पाण्डेले बीबीसीलाई बताए।

“हाम्रोमा प्राय: भिसा सकिएर बस्नेहरू धेरै हुने प्रवृत्ति देखिएको छ तर उल्लेख्य सङ्ख्यामा अन्य कसूरहरूमा संलग्न पनि देखिएका छन्,” उनले भने।

त्यस्ता कसूरमा हत्या, बलात्कारजस्ता जघन्य अपराधदेखि ठगी तथा ब्याङ्किङ कसूरसम्म रहेका छन्।

पाण्डेका अनुसार गएको एक वर्षमा नेपालबाट निष्कासनमा पर्ने कुल विदेशीमध्ये सबैभन्दा धेरै चिनियाँहरू रहेका छन्।

उनले भने, “धेरै चिनियाँहरूले नेपालमा ओभरस्टे (भिसा अवधि सकिएपछि नवीकरण नगराइ बसेका) गरेको देखियो।”

विभागको विवरण अनुसार गत वर्ष १९० जना चिनियाँ नागरिकहरूलाई नेपालबाट निष्कासन गरिएको छ।

चिनियाँपछि सबैभन्दा धेरै निष्कासनमा पर्नेहरूमा अमेरिकी नागरिकहरू रहेका छन्। गत वर्ष ४४ जना अमेरिकीहरू नेपालबाट निष्कासनमा परेको पाण्डेले बताए।

त्यस्तै यूकेका ३०, फ्रान्सका १९ र क्यानडा १७ जना निष्कासनमा परेका छन्।

पाण्डेले दिएको जानकारी अनुसार १० जना वा त्यसभन्दा बढी नागरिक निष्कासनमा परेका अन्य देशहरूमा उज्वेकिस्तान, जर्मनी, दक्षिण कोरिया, रुस र अस्ट्रेलिया रहेका छन्।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  १० : ०९ बजे