आईसीसी विश्वकप क्रिकेट लिग-२ टस जितेर नेपाल मैदानमा



काठमाडौं– आईसीसी विश्वकप क्रिकेट लिग-२ को अन्तिम खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।

किर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको हो। यससँगै स्कटल्याण्डले अब पहिले ब्याटिङ गर्ने भएको छ ।

नेपालले तीन खेलमा जित निकालेको छ । दुई खेलमा नामिबियालाई हराएको थियो भने एक खेलमा स्कटल्याण्डलाई ३ विकेटले पराजित गरेको थियो ।

लिग २ मा पहिलोपटक लगातार तीन खेलमा जित हासिल गरेको नेपाल घरेलु मैदानमा सिरिज क्लिन स्विप गर्ने योजनामा छ।

उता पहिले नै लिग २ च्यापियन बनिसकेको स्कटल्यान्ड नेपाललाई घरेलु मैदानमा हराउँदै सिरिजको अन्त्य गर्न चाहन्छ। पहिलोपटक नेपाल भ्रमणमा रहेको स्कटल्यान्डको आजको खेलपछि लिग २ को यात्रा सकिनेछ।

नेपाल भने शीर्ष ३ मा रहेर सोझै विश्वकप खेल्ने दाउमा छ। लामो समयदेखि ब्याटिङ समस्या भोगिरहेको नेपालले यो सिरिजमा उत्कृष्ट र कीर्तिमानी प्रर्दशन गरिरहेको छ। नेपाल आज पनि सोही लयलाई नियरन्तरता दिने योजनामा हुनेछ।

नेपालले पहिलो खेलमा स्कटल्यानडलाई ३ विकेटले हराएको थियो। स्कटल्यान्ड आज सोही हारको बदला लिने दाउमा हुनेछ।

नेपालले पहिलो खेलमा नामिबियालाई २ र दोस्रो खेलमा ३ विकेटले हराएको थियो।

नेपालले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ। गुलसन झाको स्थानमा ललित नारायण राजवंशीलाई मौका दिएको छ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  ९ : १३ बजे