टर्कीमा फेरि भूकम्प : तीन जनाको मृत्यु, ६८० भन्दा बढी घाइते



शक्तिशाली भूकम्पका कारण हजारौँ मानिसको ज्यान गएको केही सातापछि दक्षिणी टर्कीमा सोमवार फेरि अर्को भूकम्प गएको छ।
उक्त भूकम्पमा परेर हालसम्म तीन जनाको ज्यान गएको पुष्टि भएको छ।

सोमवारको भूकम्प ६.४ म्याग्निट्यूडको भएको बताइएको छ।पछिल्लो भूकम्पका कारण टर्की र सिरियामा गरी ६८० जनाभन्दा बढी घाइते भएको पुष्टि भएको छ।

टर्कीको विपद् तथा आपत्कालीन मामिलासम्बन्धी निकाय अफादले त्यहाँको समयानुसार सोमवार साँझ ८:०४ बजे भूकम्प गएको र त्यसपछि दर्जनौँ परकम्पहरू पनि मापन गरिएको जनाएको छ।

उक्त क्षेत्रमै फेब्रुअरी ६ तारिखमा गएको ७.८ म्याग्निट्यूडको भूकम्पले टर्की र सिरियामा गरी ४४ हजारभन्दा बढी मानिसको ज्यान लिएको थियो।

सोमवारको भूकम्पमा परी मृत्यु हुनेहरू अन्टाक्या, डफ्न र समन्डगीका बासिन्दा हुन्।

टर्कीका आन्तरिक मामिलामन्त्री सुलेमान सोयलुले मानिसहरूलाई जोखिम भएका भवनमा प्रवेश नगर्न आग्रह गरेका छन्।

उनले पछिल्लो भूकम्पका कारण टर्कीमा २१३ जना घाइते भएको बताए।

प्रत्यक्षदर्शीले रोयटर्स समाचारसंस्थालाई अन्टाक्यामा भवनहरूमा थप क्षति भएको बताएका छन्।

दक्षिणी टर्कीको हाटाईका मेयरले मानिसहरू भग्नावशेषमा फसेको बताएका छन्।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  ८ : ४३ बजे