आगामी फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनलाई लिएर दुई सत्ता साझेदार नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताबीच दिनदिनै छलफल भइरहेको छ।
गत पुस १० गते सात दलीय गठबन्धन निर्माण भएर पुस ११ गते प्रधानमन्त्री भएका पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते नेपाली कांग्रेसको समेत विश्वासको मत पाएका थिए।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पहलमा पुस १० गते तत्कालीन पाँच दलीय गठबन्धन टुटेपछि तनावमा परेको कांग्रेसले पुस २६ गते प्रचण्डलाई विश्वासको मत दिएपछि राजनीतिक कोर्षमा फेरि नयाँ परिवर्तन देखियो।
पुस २६ मै कांग्रेसले विश्वासको मत दिने क्रममा संसदमा बोल्दै नेकपा एमालेका अध्यक्ष ओलीले राष्ट्रपति या अन्य पदका लागि ढोक्सा थापेको भए त्यो खेर जाने बताएका थिए।
तर अब भने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रबीच राष्ट्रपति र प्रधानमन्त्रीका लागि ‘उच्चस्तरीय राजनीतिक समझदारी’ हुने सम्भावना बढेको छ।
माओवादीले प्रतिपक्षी कांग्रेसलाई राष्ट्रपतिमा सघाउने र कांग्रेसले पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पूरै कार्यकाल सघाउने गरी ‘उच्चस्तरीय राजनीतिक समझदारी’ हुने सम्भावना बढ्दै गएको हो।
संसद विघटनको यही कुरालाई लिएर नेपाली कांग्रेसले पनि संवैधानिक पदहरुमा शक्ति सन्तुलन आवश्यक रहेको बताउँदै विश्वासको मतको गुन तिर्न दबाब दिइरहेको छ।
प्राविधिक रुपमा प्रचण्ड ओली नेतृत्वको गठबन्धनमै रहे पनि उनले कांग्रेस र एकीकृत समाजवादीसँगको निकटता पनि कायमै राखेका छन्।
उनी आफैंले छलफल नगरे पनि उनको निर्देशनमा माओवादी नेताहरुले पटक पटक कांग्रेस र समाजवादीका नेताहरुसँग संवाद गरिसकेका छन्।
प्रचण्डले माघ ३ पछि संवैधानिक पदहरुमा राष्ट्रिय सहमति जुटाउनुपर्ने भन्दै आएका छन्। उनको यो अभिव्यक्तिलाई पुष्टि गर्ने गरी कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले शुक्रबार सार्वजनिक टिप्पणी गरेका छन्। उनकै भनाइ अनुसार कांग्रेस–माओवादी ‘उच्चस्तरीय राजनीतिक समझदारी’ हुने सम्भावना बढ्दै गएको देखिन्छ।
गत पुस २६ गते विश्वासको मत पाएका प्रधानमन्त्री प्रचण्डले माघ ३ गते सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक बोलाएर राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख चयनका लागि दलहरुबीच सहमति हुनुपर्ने प्रस्ताव गरेका थिए।
यद्यपि, राष्ट्रिय सहमतिको प्रयास नै नगरी सभामुख र उपसभामुखको निर्वाचन भइसकेको छ। तर फागुन २५ गते हुन गइरहेको राष्ट्रपतिको निर्वाचनका लागि उनले राष्ट्रिय सहमतिको अडान दह्रो बनाउँदै लगेका छन्।
प्रचण्डले शुक्रबार पनि राष्ट्रपतिका लागि साझा व्यक्ति हुनुपर्ने अडानबाट पछि हट्न नसक्ने बताएका छन्। शुक्रबार बिहान बालुवाटारमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसँग उनले पछिल्लो केही घटनाक्रमले झस्काएको भन्दै राष्ट्रपतिमा साझा व्यक्तिको अडान छाड्ने अवस्था नरहेको बताएका हुन्।
‘राष्ट्रपतिमा साझा व्यक्ति हुनुपर्ने अडानबाट पछि हट्ने अवस्था छैन,’ अध्यक्ष केसीसँगै बालुवाटार छलफलमा सहभागी एक नेताले प्रधानमन्त्री प्रचण्डको भनाइ उद्धृत गर्दै नेपालखबरसँग भने, ‘केही घटनाक्रमले मलाई झस्काएको छ।’
जनमोर्चाका ती नेताका अनुसार प्रचण्ड एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईंले झापामा पूर्वराजा ज्ञानेन्द्र शाहको उपस्थितिमा सम्पन्न गरेको कार्यक्रम र कार्यक्रमपछि अध्यक्ष ओली र प्रसाईंबीचको भेटवार्ताले झस्किएका छन्।
‘अस्ति झापामा दुर्गा प्रसाईंले पूर्वराजा लगेर कार्यक्रम गरे, तपाईंहरुलाई थाहै छ,’ प्रधानमन्त्री प्रचण्डले जनमोर्चा अध्यक्ष केसीसँग भने, ‘भोलिपल्ट तिनै दुर्गा प्रसाईंले एमाले अध्यक्ष केपी ओलीजीलाई पनि भेटेछन्, आशिर्वाद नै लिएको जस्तो। यो घटनाले मलाई के महसुस भइरहेको छ भने राष्ट्रपतिमा अडान छोड्नु हुन्न।’
प्रचण्डले राष्ट्रपतिमा अडान छोड्न नहुने अडान लिइरहँदा राष्ट्रपति पद पोल्टामा पर्न प्रयासरत कांग्रेस प्रवक्ता महतले पनि माओवादीले राष्ट्रपति निर्वाचनमा समर्थन गरे पूरै पाँच वर्ष उनलाई प्रधानमन्त्री स्वीकार्ने संकेत गरेका छन्।
प्रतिक्रिया