काठमाडौं :
माघ १ गते पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटना हुनु केहीअघि चालक परिवर्तन भएको पाइएको छ। विमान उडानको नेतृत्व सहचालकबाट मुख्य चालकले लिएको छानबिनका क्रममा खुलेको हो।
बिहीबारको गोरखापत्र दैनिकमा समाचार छ, दुर्घटना जाँच आयोगले सरकारलाई बुझाएको प्रारम्भिक प्रतिवेदनअनुसार विमानको बायाँतर्फको सिट (मुख्य कमाण्ड दिने ठाउँ) मा क्याप्टेन अञ्जु खतिवडा बसेको र प्रशिक्षक पाइलट कमल केसी दायाँतर्फ बसेको पाइएको छ। हवाइ विज्ञका अनुसार दायाँतर्फ सामान्यतया को–पाइलट बस्ने गर्छन्।
‘खतराको सङ्केत प्राप्त भएपछि १०:५७:१८ बजे विमानको नियन्त्रण पीएफ (अञ्जु खतिवडा) ले पीएम (कमल केसी) लाई सुम्पेको’ प्रतिवेदनमा उल्लेख छ। त्यस क्रममा खतिवडाले इन्जिनमा पावर नरहेको कुरा बताएको समेत प्रतिवेदनमा जनाइएको छ। प्रतिवेदनअनुसार पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको पश्चिमतर्फको धावन मार्ग ‘वान टू’बाट भीएफआर (आँखाले हेरेर हुने) उडान तथा अवतरणको अनुमति दिनुअघि विस्तृत अध्ययन गरेर मात्रै अनुमति दिन आवश्यक रहेको देखिएको छ।
प्रतिवेदनमा धावन मार्गको पश्चिमतर्फबाट भीएफआर उडान तथा अवतरण गराउनुअघि जहाजको उचाइ र जहाजले अवतरण गर्न सक्ने अवस्थाबारे विस्तृत अध्ययन गरेर मात्रै अनुमति दिन सरकारलाई सिफारिस गरेको हो।
जहाज दुर्घटना हुनुपूर्व चालक दलले सुरुमा विमानस्थलको पूर्वतर्फ (थ्री जिरो) बाट अवतरणको अनुमति मागेको र विमानस्थलको हवाई ट्राफिक कन्ट्रोल (एटीसी)ले अवतरणको लागि धावन मार्ग क्लियर रहेको निर्देशन दिएको थियो तर पछि चालक दलले पहिलो निर्णयलाई बदल्दै धावन मार्गको पश्चिम (वान टू)बाट अवतरणको अनुमति मागेकाले पश्चिमतर्फबाट हुने उडानमा कडिकडाइ गर्न आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ।
प्रतिक्रिया