चितवन-२ मा चुनाव लड्न मिडिया सञ्चालकलाई रविको चुनौती



काठमाडौं :

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मिडियाप्रति आक्रोश व्यक्त गरेका छन्। आइतबार पत्रकार सम्मेलन गर्दै सभापति लामिछानेले आफूविरुद्ध लेखिएका समाचारप्रति आक्रोश व्यक्त गरेका हुन्।

‘एकजना मान्छेका लागि यति धेरै प्रहार? मैले आफैँले म गृहमन्त्री जाने भनेर कही कतै भनिएको, लेखिएको छ? पाटीको भागमा परेको गृहमन्त्रालय पार्टीको निर्णय हुन्छ। हामीले बोलेको त्याे हो। बाँकी क–कसले के–के बोले त्यसमा मेरो कुनै रुची छैन्। कन्फ्ल्क्टि अफ इन्ट्रेस्ट, कन्फ्ल्क्टि अफ इन्ट्रेस्ट। कन्फ्ल्क्टि अफ इन्ट्रेस्टको राम्रो व्याख्या गर्ने हो भने गरौं त? नेपाली मिडियाको कन्फ्ल्क्टि अफ इन्ट्रेस्टको व्याख्या गर्ने आँट कसैको छैन,’ उनले भने।

केही ठूला मिडियाका सञ्चालक र सम्पादकहरुको नाम लिँदै सभापति लामिछानेले चितवन–२ मा आफूसँग चुनाव लड्ने देखाउन चुनौती दिए।

‘नेपालको मिडियालाई रिजाएर मात्रै पावर गेन गर्ने? मिडियाले चाहे मात्र चलाउने? देश चलाउने हो भने चुनाव लड्न आउनूस्। चितवन २ मा मसँग चुनाव लड्न आउनूस्। कैलास सिहोरिया, रामेश्वर थापा, अमित ढकाल, शिव गाउँले आउने होकि को–को आउने हो आउनूस। देश तपाईंले चलाउने होइन आफ्नो मिडिया चलाउने हो। इथिक्स तपाईहरुलाई पनि लाग्छ मलाई मात्रै लाग्दैन। अदालतलाई प्रभावित पार्न तपाईंले निरन्तर चार पटक पाँच पटक समाचार लेख्नु भएको छ,’ उनले भने।

सभापति रवि लामिछानेले उपनिर्वाचनबाट निर्वाचित नभई कुनै पदमा नजाने बताएका छन् । सरकारबाट बाहिरिने, तर समर्थन कायमै राख्ने पार्टीको निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा लामिछानेले भने, ‘ उपनिर्वाचनबाट निर्वाचित नभई कुनै पदमा जान्नँ ।’ उनले सञ्चारमाध्यमहरुले आफूलाई निरन्तर खेदेको भन्दै आक्रोश समेत पोखेका छन् ।

उनले आफूले झुटो नबोल्ने उल्लेख गर्दै मन्त्री पद जाँदा केही अलिअलि झोँक पनि चलेको स्वीकार गरे ।
‘मन्त्री पद गएको झोँकमा यो झोक्किएछ भन्ने तपाईँलाई होला हैन ? अलिअलि हो’, उनले भने, ‘किन झुट बोल्ने ? अलिअलि त हो नि रिस उठिहाल्छ नि !

उपप्रधानमन्त्री, गृहमन्त्री सबै गएको छ भने होइन भनेर त्यस्तो नाटक मैले गर्न सक्दिनँ ।’उनले आफ्नो फेसबुकको बायो समेत मान्छे भन्ने राखेको उल्लेख गर्दै त्यतिसम्म त देलान् नि भनेर सो निर्णय गरेको उनले बताए ।उनले आफ्नो बारेमा प्रमाणसहित लेख्न आग्रह गर्दै प्रमाणसहित लेखिएको कुराको स्वीकार गर्ने बताए ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  ४ : ५९ बजे