काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपति चुनावसम्म माओवादीलाई आफ्नो पक्षमा पार्ने रणनीतिअनुसार आफ्नो उम्मेदवारी दिने निर्णयबाट पछि हटेपछि राष्ट्रियसभा उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध निर्वाचित हुने निश्चित भएको छ । यद्दपि मनाेनयन दर्ताको समय ४ बजेसम्म बाँकी नै रहेकाेछ ।
उनको प्रस्तावकमा नारायणकाजी श्रेष्ठ र समर्थकमा देवेन्द्र दाहाल र खिमलाल देवकोटा रहेका छन्। उम्मेदवारी मनोनयनको दिन कांग्रेसले माओवादीविरुद्ध आफ्नो उम्मेदवार खडा नगर्ने निर्णय गरेसँगै उर्मिला निर्विरोध हुने भएकी हुन् । अर्यालको उम्मेदवारी दर्ता भइसकेको छ ।
मनोनयन दर्ता पछि सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी केन्द्रकी उम्मेदवार अर्यालले निष्पक्ष,तटस्थ र मर्यादित भएर काम गर्ने बताइन्।
उनले भनिन्,’राष्ट्रियसभाको उपाध्यक्षमा तटस्थ र मर्यादित भएर काम गर्छु। त्यसका लागि सबै सांसदहरूको सहयोगको अपेक्षा गरेकी छु।’ उनले पदअनुसारको आचारण गर्नु आफ्नो कर्तव्य रहने बताइन्।
शनिबार कांग्रेस सभापति शेरबहादुर देउवाले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र लोसपा अध्यक्ष महन्थ ठाकुरसँग छलफलसमेत गरेका थिए । तर, आइतबार देउवा निवासमा बसेको कांग्रेससहित विपक्षी दलहरूको बैठकले माओवादीविरुद्ध उम्मेदवारी नदिने निर्णय गरेको हो ।
प्रतिक्रिया