‘बारीमा जाऊँ भविष्य छैन, खाडीमा जाऊँ उमेर छैन’



काठमाडौं :

बारीमा उत्पादन भएको तरकारी नबिकेपछि चितवनका किसानले सडकमा तरकारी पोखेका छन्।

उनीहरुले भारतीय तरकारीको जथाभावी आयातले स्वदेशी तरकारी उत्पादक किसान मारमा परेको भन्दै नारायणगढ पुल्चोकमा गोलभेडा, काउली, बन्दा, परबल लगायतका तरकारी फालेर आन्दोलन गरे ।

‘यहाँ पालेको तरकारीमा किसानको पसिना मिसिएको छ, पसिनाको मूल्य पनि पाइएन’ तरकारी किसान लेखनाथ भुसालले भने, ‘हाम्रो दुःख र पसिना यसै गयो ।’

यसै त व्यस्त सडक त्यसमाथि मुख्य चोक नै तरकारीले भरिएको देखिन्थ्यो। गोलभेंडाले राताम्य बनेको सडकमा गाडी गुडाउन चालकले आँट गरिरहेका थिएनन्। प्रहरीहरू भने त्यसमाथि गाडी चालाउन निर्देशन दिँदै सिठ्ठी फुकिरहेका थिए।

नारायणगढको पुल्चोक व्यापारको केन्द्रमात्रै होइन, चितवनको पुरानो बजारको यो चोक जिल्लाको प्रायः राजनीतिक, सामाजिक आन्दोलनको घोषणा गर्ने थलो पनि हो। यहाँबाट चितवनले धेरै पटक केन्द्रलाई खबरदारी गरेको छ।
चितवनसहित देशैभरि नेपाली तरकारी नबिक्दा भारतबाट भने सहज रूपमा तरकारी नेपाल भित्रिएको किसान संघर्ष समितिका संयोजक लेखनाथ भुसालले बताए।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ५ : ४९ बजे