रास्वपाबारे निर्वाचन आयोग : ‘कुनै दल दर्ता खारेजको माग गर्ने अधिकार अर्को व्यक्तिलाई छैन’



काठमाडौंः निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले कुनै व्यक्तिले कुनै पार्टीविरूद्ध उजुरी दिँदैमा दल खारेज नहुने बताएका छन् । पत्रकारहरूसँगको छलफलमा प्रमुख निर्वाचन आयुक्त थपलियाले कुनै दलविरुद्ध व्यक्तिले उजुरी दिँदैमा दल खारेज गर्न नमिल्ने बताएका हुन् ।

तर,विधि र प्रक्रिया पुर्‍याएर दल दर्ता खारेज गर्न सक्ने थपलियाको भनाइ छ ।

राजनीतिक दल दर्ता सम्बन्धी ऐन र संविधानले कुनै व्यक्तिलाई कुनै अर्को पार्टी खारेज गरिपाउँ भनेर निवेदन दिने अधिकार नदिएको समेत थपलियाले बताए । उनले भने, ‘राजनीतिक दल दर्ता सम्बन्धी ऐनको दफा १२, १३ र संविधानको धारा २७० लाई हेर्नुस् यी व्यवस्थाले कुनै पनि अर्को व्यक्तिलाई कुनै अर्को पार्टी खारेज गरिपाउँ भनेर निवेदन दिने अधिकार दिंदैन । यदि त्यो हुँदो हो त क भन्ने पार्टी खारेज गरिपाउँ भनेर ख भन्ने पार्टीको नेताले निवेदन दिएर हिँड्थ्यो होला नि । त्यसकारण त्यस्तो परिकल्पना गरिएन ।’
राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ इंगीत गर्दै प्रमुख आयुक्त थपलियाले भने,‘राजनीति गर्ने मान्छेहरू राष्ट्र र जनताप्रति बफादार र इमान्दार बनेर काम गर्छन् । त्यसैले त्यस्ता व्यक्तिले फर्जि र झुटो विवरण पेश गरेर कुनै काम गर्नुहुँदैन । ’

रास्वपाको दल दर्ता खारेजीको माग गर्दै नेपाली नागरिकको तर्फबाट युवराज पौडेल असफलले निर्वाचन आयोगमा उजुरी दिएका छन्।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ५ : ३९ बजे