काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने भएको छ । आज बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले दुई दिन पर्खिने तथा सरकारलाई मार्गदर्शन गर्न बनेको उच्चस्तरीय संयन्त्रको बैठक बोलाउन माग गर्ने निर्णय गरेको हो ।
बिहीबार बसुन्धारामा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले उक्त निर्णय गरेको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई दिनको समय मागेकोले अहिलेलाई बैठक स्थगित गरिएको प्रवक्ता मुकुल ढकालले जानकारी दिए।
पार्टी सभापतिलाई गृह मन्त्रालय नदिएको कारण देखाएर सरकारबाट बाहिरिने हो भने पदलोलुपता देखिने भन्दै केही सांसदले पार्टीले गृह मन्त्रालय माग्नुपर्ने तर गृहमा पठाउने व्यक्ति सांसदहरूबीचबाटै खोज्नुपर्ने धारणा पनि राखेका थिए। केहीले भने चाँडो उपनिर्वाचनमा जानका लागि प्रधानमन्त्रीलाई सहमत गराउनुपर्ने र निर्वाचित भएर आएपछि पार्टी सभापतिले गृहमा दाबी गर्नुपर्ने धारणा पनि राखेका थिए ।
सभापति रवि लामिछानेनिकट भनेर चिनिएका नेता र सांसदले भने प्रधानमन्त्रीले गठबन्धनमा भएको सहमति पालना नगरी धोका दिएको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने धारणा राखेका थिए।
प्रतिक्रिया