काठमाडौं :
नाबालिग करणीको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छोड्ने उच्च अदालतको आदेश बदरको माग गर्दै महान्यायाधीवक्ता कार्यालयले सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ।
महान्यायाधीवक्ताको कार्यालयका अनुसार लामिछानेलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालतको आदेश बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएको जानकारी दिएको छ ।
‘हामीले सर्वोच्च अदालतमा निवेदन दर्ता गरिसकेका छौं’, महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जिवराज रेग्मीले भने, ‘ हामीले उच्च अदालतको आदेश बदर हुनुपर्ने र आरोपितलाई थुनामै राखेर मुद्दा अघि बढाउनुपर्ने माग राखेका छौं ।’
यसअघि काठमाडौं जिल्ला अदालतले मुद्धा पुर्पक्षका लागि थुनामा पठाएकामा उच्च अदालतले २० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको थियो।
उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेश बदर गरिदिएको थियो।
उनलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। उनका अनुसार लामिछानेलाई विदेश जान रोक लगाइएको छ।
काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई करणी गरेको भन्दै एक १७ वर्षीय किशोरीले प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन्।
प्रतिक्रिया