बालुवाटार गएर रविले दिए गृह नपाए सरकार छाड्ने चेतावनी



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पुनः गृहमन्त्री बनाउनुपर्ने माग सो पार्टीले राखेपनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सकारात्मक देखिएका छैनन् । प्रचण्डले मङ्गलवार बालुवाटारमा भएको भेटवार्तामा रविलाई सकारात्मक जवाफ नदिएपछि रास्वपा चिढिन पुगेको छ ।  लामिछानेले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएका छन्। गृह नपाए सरकारलाई दिएको समर्थन फिर्ता लिने लामिछानेको चेतावनी छ।

आफूलाई प्रचण्डले सकारात्मक जवाफ नदिएपछि अब कसरी अघि बढ्ने भन्नेबारे रविले पार्टीमा छलफल थालेका छन् । सभापतिले अब कसरी अघि बढ्ने भन्नेबारे छलफल थालेको एक नेताले जानकारी दिए । ती नेताका अनुसार पार्टीभित्र छलफलका आधारमा आवश्यक निर्णय लिइनेछ । उनका अनुसार सरकारमा रहिरहने या बाहिरिने भन्नेमा आवश्यक निर्णय हुनेछ ।

सभापति लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलले पनि सभापतिले पार्टीको निर्णयअनुसार प्रधानमन्त्रीसहित दलका नेताहरूसँग छलफल गरिरहेका छन् । आज बिहानमात्रै पनि प्रधानमन्त्री प्रचण्डसँग सभापतिले छलफल गरेको बताउँदै उनले पार्टीको निर्णयमा कुनै दायाँबायाँ नहुने बताए । उनले सत्ता साझेदार दललाई माग पुरा गर्नका लागि कुनै अल्टिमेटम भने नदिइएको उनको भनाइ छ ।

तर प्रचण्डले लामिछानेलाई मङ्गलवारको छलफलमा सकारात्मक जवाफ दिएका थिएनन् । ‘प्रधानमन्त्रीले रविजीको विषयमा महान्यायाधिवक्ता, कानुनविद्हरुसँग परामर्श गर्नुभयो । नागरिकताको केश सुल्झिएपनि पासपोर्टको केशले गाह्रो बनाउँछ । यस्तो अवस्थामा उहाँलाई गृह मन्त्रालयको जिम्मेवारीमा फर्काउँदा सरकारलाई र रविजीलाई समेत राम्रो गर्दैन भन्ने बुझाइ छ’, प्रधानमन्त्रीको सचिवालय स्रोतले भन्यो, ‘प्रधानमन्त्रीज्यू उहाँको सबै विषय नसुल्झिएसम्म फर्काउन सकारात्मक हुनुहुन्न । उहाँ भने पुरानै जिम्मेवारीमा फर्किन आतुर देखिनुहुन्छ ।’

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  १२ : २५ बजे