बिरामीलाई पिटेको आरोपमा अष्ट्रेलियामा नेपाली नर्स पक्राउ



काठमाडौँ । अस्ट्रेलियामा बिरामीमाथि हिंस्रक व्यवहार गरेको आरोपमा एक जना नेपाली नर्स पक्राउ परेकी छन्। नेपाली नर्स अस्मिता पाण्डेलाई बिरामीलाई पिटेको र धक्का दिएको आरोपमा पक्राउ गरिएको हो।

एस्थिया हेल्थमा काम गर्ने पाण्डेले वृद्ध अवस्थाका बिरामीलाई कुटेको भन्दै सहकर्मीले अस्पताल प्रशासनमा रिपोर्ट गरेका थिए। ‘वर्किङ भिसा’मा अष्ट्रेलिया पुगेका अस्मिताले इपिङस्थित एस्टिया हेल्थमा भर्ना भएकी एक वृद्धालाई थप्पड हानेको अष्ट्रेलियन मिडियाहरूले जनाएका छन्।

अस्मिताले ९५ वर्षीया जोन मुर्रेमाथि कुटपिट गरेको बताइएको छ। कुटपिटपछि उनका सहकर्मीहरूले नै प्रहरीलाई खबर गरेको नाइनन्युजको समाचारमा उल्लेख छ।

अस्मितलाई जेलसम्मको सजाय हुनसक्ने त्यहाँका अधिकारीहरूले बताएका छन्। एस्टिया हेल्थका प्रमुख कार्यकारी अधिकृत सीन बिल्टनले माफी माग्दै कुनै पनि प्रकारको दुर्व्यवहार आक्षम्य हुने बताएका छन्। उनले आफ्ना नागरिकहरूको सुरक्षा र कल्याण पहिलो प्राथमिकता रहेको नाइनन्युजलाई बताएका छन्।

हालः गर्भवती रहेकी अस्मितालाई अष्ट्रेलियामा स्वास्थ्य क्षेत्रमा काम गर्न बन्देज लगाइएको छ। उनको मुद्दाको अन्तिम सुनुवाई मार्चमा हुने बताइएको छ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  १० : ५१ बजे