काठमाडौं – सर्वोच्च अदालतको आदेशपछि गैरनागरिक ठहर रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन्।
सर्वोच्च अदालतले शुक्रबार रविले कानूनबमोजिम नेपालको नागरिकता पुनः प्राप्त नगरेको ठहर गरेको थियो । सर्वोच्च अदालतले नागरिकतामा दोषी ठहर गरेपछि रविले मन्त्री र सांसद पद गुमाएका थिए ।
२०५० सालमा लिएको नागरिकता त्यागेका उनी अमेरिकी नागरिक भएका थिए। तर २०७५ नेपाल फर्किएका उनले अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकताका लागि निस्सा पेश गरेका थिएनन्।
२०५० सालमा लिएर बीचमा त्यागिसकेको नागरिकता नै पेश गरेर उनले नेपाली राहदानी निकालेका थिए। त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गर्दा पनि उनले त्यही नागरिकता निर्वाचन आयोगमा पेश गरेका थिए।
त्यसपछि चितवन क्षेत्र नम्बर २ बाट सांसदमा उठ्दा पनि उनले पुरानै खारेज भइसकेको नागरिकता पेश गरेको खुलेको छ।
यस्तोमा उनको यो सबै प्रक्रियालाई खारेज गर्दै सर्वोच्चले उनलाई नेपाली नागरिकता लिने प्रक्रिया अघि बढाउन पाउने गरी आदेश दिएको थियो।
यो संगै राष्ट्रिय स्वतन्त्र पार्टीले रवि लामिछानेलाई आजै पार्टी सभापति घोषणा गर्ने तयारी गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा अहिले केही बेरपछि बस्ने बैठकले लामिछानेलाई पुनः सभापतिमा फर्काउने निर्णय गर्दैछ।
त्यस्तै पार्टी रास्वपाले गृहमन्त्रालय आफ्नो नै हुने दाबी गरेको छ । सर्वोच्च अदालतले १३ माघमा नागरिकता विवादमा रवि लामिछानेको सांसद पद खारेज गरेसँगै उनको गृहमन्त्री पद पनि गुमेको थियो ।लामिछानेले पद गुमाए पनि गृहमन्त्रालय आफूहरुको भागमा परेको हुँदा दाबी कायमै रहने रास्वपाले बताएको छ ।
प्रतिक्रिया