काठमाडौं । सर्वोच्च अदालतले नागरिकतामा दोषी ठहर गरेपछि मन्त्री र सांसद पद गुमाएका रवि लामिछाने नयाँ नागरिकता लिन जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका छन् ।
स्थानीय प्रशासनसँग समन्वय गरेर लामिछानेले आजै नागरिकता लिने प्रक्रिया अघिब बढाएका हुन्।लामिछाने केहीबेर अघिमात्र जिल्ला प्रशासन कार्यालय पुगेका हुन्।
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा रविले अमेरिकी नागरिकता त्यागेको प्रमाण बुझाउनु पर्नेछ। ती प्रमाण बुझाएपछि जिल्ला प्रशासन कार्यालयले उनको पहिलेकै विवरणमा नयाँ नागरिकता जारी गर्नेछ।
लामिछालेले नागरिकता लिनका लागि गृह मन्त्रालयसँग समेत परामर्श गरेका थिए । गृहले नियमित प्रक्रियाबाट नागरिकता लिन सकिने बताएपछि उनी सोहीबमोजिम प्रशासन पुगेको बताइएको छ । सर्वोच्चको फैसलामा उनले नागरिकता लिन प्रक्रिया पुरा गर्नुपर्ने मात्रै भनेकाले सोहीअनुसार सामान्य प्रक्रियाबाट नागरिकता लिने तय भएको हो । अमेरिकी नागरिकता त्यागेको कुरा सत्य भएपनि त्यसपछि उनले पुरानो नागरिकता आफूखुसी प्रयोग गरेको पुष्टि भएको थियो । त्यही नागरिकता उनले प्रक्रिया पुरा गरेर ब्युताउन लागेका हुन् ।
सर्वोच्च अदालतले अमेरिकाको नागरिकता त्यागेपछि नेपालको कानुनबमोजिम नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै लामिछानेको सांसद पद खारेज गरिदिएको थियो। सर्वोच्चले नेपाली नागरिक नै नभएको ठहर गरेपछि लामिछानेले उपप्रधान एवम् गृहमन्त्री र रास्वपाको पार्टी सभापति पद पनि गुमाएका थिए। लामिछाने गत ११ पुसमा उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त भएका थिए।
लामिछानेले २०५० साल फागुन १० गते जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट नेपाली नागरिकता प्राप्त गरेका थिए । जिल्ला प्रशासन कार्यालय काठमाडौंको विवरणमा उनको नागरिकता नम्बर १८२२२ रहेको उल्लेख छ । कामको सिलसिलामा अमेरिकामा पुगेका लामिछानेले २०१४ को फेब्रुअरी २१ मा अमेरिकाको नागरिकता प्राप्त गरेका थिए । अमेरिकाको नागरिकता प्राप्त गरेपनि सोको जानकारी नेपाल सरकार वा सम्बन्धित साधिकार जिल्ला प्रशासन कार्यालयलाई गरेका थिएनन् । लामिछानेले सन् २०१४ मा अमेरिकी पासपोर्ट लिइसकेपछि पनि पुनः नेपाली नागरिकता र पासपोर्ट प्रयोग गरेको भन्दै उनीमाथि प्रहरीले फौजदारी कसुरमा समेत अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया