काठमाडौं – रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा दिएका छन्। सर्वोच्च अदालतले लामिछानेको नागरिकता अवैध रहेको ठहर गरेपछि उनले शुक्रबार राजीनामा दिएका हुन्।
रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतबाट बदर भएसँगै निजी गाडीमा गृह मन्त्रालयबाट बाहिरिएका छन्। दिनभर सर्वोच्चको फैसला कुरेर मन्त्रालयमै बसेका लामिछाने साँझ साढे ६ बजेतिर मन्त्रालयबाट बाहिरिएका थिए।
सर्वोच्च अदालतको फैसलासँगै गैरनागरिक बनेका रवि लामिछानेले आइतबार नै पुनः नागरिकता प्राप्त गर्न सक्नेछन्। उनले यसअघि नै अमेरिकी नागरिकता र पोसपोर्ट त्यागि सकेकाले नागरिकता प्राप्त गर्न योग्य छन्।
तर यसका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा रविले अमेरिकी नागरिकता त्यागेको प्रमाण बुझाउनु पर्नेछ। ती प्रमाण बुझाएपछि जिल्ला प्रशासन कार्यालयले उनको पहिलेकै विवरणमा नयाँ नागरिकता जारी गर्नेछ।
पुनः नागरिकता प्राप्त गरेसँगै चितवन क्षेत्र नं २ मा अब हुने उपनिर्वाचनमा उनी सहभागी हुन सक्नेछन्। तर त्यसअघि अन्य कसुरमा उनीमाथि कारबाही नभएको अवस्थामा मात्रै।
रविले दोहोरो नागरिकता लिएको, पासपोर्ट लगायतका विषयमा भने अझै पनि छानबिन हुने सम्भावना छ। सर्वोच्चको फैसलाले अब ती कसुरमा पनि छानबिन गर्न बाटो खुलेको छ।
अन्य कसुरले बन्देज नगरे नागरिकताकै कारण भने उनलाई उपनिर्वाचनमा सहभागी हुन बाधा पर्ने छैन।
नेपाली नागरिकता नहुँदा उनको सांसद पद गुमेको छ भने उपप्रधान तथा गृहमन्त्रीबाट पनि राजीनामा दिइसकेका छन्। रास्वपाको सभापति पनि रहने छैनन्। तर नागरिकता लिइसकेपछि यी सबै पदमा उनी पुनः फर्किने बाटो भने कायम छ।
प्रतिक्रिया