काठमाडौँ । सर्वोच्च अदालतको फैसलापछि रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा दिएका छन् । शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष राजीनामा बुझाएका हुन् ।
उनले सञ्चारकर्मीसँग सर्वोच्च अदालतको फैसला स्वीकार गर्ने र अदालतभन्दा माथि कोही नरहेको बताएका थिए। उनले आफू अनागरिक भएको भन्दै प्रश्न नगर्न सञ्चारकर्मीलाई आग्रह गरेका थिए।
शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेले अमेरिकी नागरिकता लिएपछि निष्क्रिय भइसकेको नागरिकता पुन:प्राप्तिका लागि विधिवत प्रक्रिया पूरा नगरेकाले उनी सांसद हुन अयोग्य रहेको फैसला गरेको हो। यो फैसलासँगै लामिछानेको सांसद पद खारेज भएको छ।
सर्वोच्च अदालतले सांसद पद बदर गरिदिएका रवि लामिछाने गृह मन्त्रालयबाट बाहिरिएका छन्। शुक्रबार साँझ मन्त्रालयबाट बाहिरिने क्रममा पत्रकारहरूले उनलाई सर्वोच्चको फैसलाबारे प्रश्न सोधेका थिए।
लामिछानेले आफू अब अनागरिक भइसकेको बताए।
‘म एक अनागरिकलाई तपाईंहरू के प्रश्न सोध्नुहुन्छ,’ उनले भने।अब के गर्नुहुन्छ? भन्ने अर्को प्रश्नमा उनले भने- एउटा अनागरिकले के गर्छ भन्ने मलाई थाहा छैन।
उनले आफूले सर्वोच्चको फैसलाको स्वागत गर्ने बताए।
प्रतिक्रिया