नेता गणेश कार्कीको प्रश्न : पहिले किताब पठाएर जनक शिक्षालाई सुधार गर्ने कि जनक शिक्षालाई सुधारेर मात्रै किताब पठाउने ?



काठमाडाैँ – प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस (आर आर)काे गेट अगाडि अनेरास्ववियुले शिक्षामन्त्रीकाे पुत्ला दहन गरेकाे छ। नेकपा एकीकृत समाजवादी नेकटकाे विद्यार्थी संगठन अनेरास्ववियुले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालकाे पुत्ला दहन गरेकाे हाे।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी शैक्षिक सत्रमा कक्षा १-५ सम्मका पाठ्यपुस्तक छपाइको जिम्मा निजी क्षेत्रलाई दिइने निर्णय गरेसँगै यसकाे विराेधमा उ‍त्रिएका हुन्। यसअघि यी सबै पुस्तक जनक शिक्षाबाटै छापिन्थे। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खनाल हालै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री नियुक्त भएका थिए।

उनको पुत्ला दहन संगै राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय नेता गणेश कार्कीले उनको बचाउ गर्दै सामाजिक संजालमा पुत्ला दहन गर्न आवस्यक नरहेको तर्क राखेका छन् ।

उनले सामाजिक संजालमा लेखेका छन्, ‘शैक्षिक सत्रको सुरुवातमा विद्यार्थीहरुको हातमा पाठ्यपुस्तक पुगेको कुनै पनि बर्ष छैन । हामीले शिक्षाक्षेत्रको बारेमा वाचापत्र लेख्दै गर्दा लेखेका छौँ, ‘शैक्षिक सत्र सुरु हुनु भन्दा पहिले नै हरेक विद्यार्थीको हात हातमा पाठ्यपुस्तक पुर्याइनेछ । यसमा व्यवधान पुर्याउने नीतिगत तथा संरचनागत प्रक्रिया, संस्थाहरुप्रति शून्य सहिनशीलता अपनाइनेछ ।’

भन्नुको मतलब, सबै भन्दा पहिलो शर्त विद्यार्थीका हातमा पाठ्यपुस्तक पुग्न पर्यो, त्यो पनि समयमा नै । यसमा सरकारले छाप्ने कि निजीलाई दिने भन्ने त्यसपछि आउने कुरा हो । अनि आउने हुन्, अनियमितताका कुराहरु । कुनै पनि कुरालाई अगाडि ल्याएर पाठ्यपुस्तक वितरणमा हुने ढिलाइ र व्यवधान सहनु गलत हो ।

सरकारी संस्थाले छापेको र निजीले छानेको कागज हेरौँ । छापेको पाठ्यपुस्तकको गुणस्तर हेरौँ । मुल्य हेरौँ । कसले छापेको पाठ्यपुस्तक समयमा पुगेको छ भन्ने हेरौँ । र, निशुल्क दिन नसक्ने अवस्थामा अभिभावकको क्रयशक्तिले भ्याउने गरेर गुणस्तरको छापेर समयमा विद्यार्थीका हातमा पाठ्यपुस्तक पुर्याऔँ ।

नयाँ आएका शिक्षामन्त्रीले पाठ्यपुस्तक समयमा पुर्याउने कार्यलाई प्राथमिकतामा राखेर काम गर्नु असल हो भन्न छोडेर पुत्लादहन गर्नु आवश्यक छ र ? एकिकृत समाजवादी पार्टीसम्बद्ध अनेरास्ववियूका साथीहरु, फोटोमा जस्तै तपाईहरुले जलाएको पुत्लाको आगोले शिक्षालयमा निर्बाध पस्न विद्यार्थीहरुलाई पर्खाएको छ, रोकेको छ ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  ११ : १७ बजे