काठमाडौं : गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको थप सुनुवाइ आज (शुक्रबार) हुँदै छ। गत बुधबार रिट निवेदक र प्रतिवादी सरकारको पक्षबाट बहसपछि यो मुद्दा हेर्दा हेर्दैमा छाडिएको थियो।
माघ ११ गते गृहमन्त्री लामिछाने र सरकारी वकिलको कार्यालयका वकिलहरूको बहस नसकिएकाले मुद्दा आजका लागि हेर्दाहेर्दैमा राखिएको हो। अब आज थप बहस हुनेछ।
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासमा शुक्रबार सुनुवाइ सकिने अपेक्षा छ।
यसअघि बुधबार भने रिट निवेदक पक्षबाट वरिष्ठ अधिवक्ता रमण कर्ण र सुरेन्द्र भण्डारी तथा अधिवक्ताहरु अमृत खरेल, निकिता ढंगानाले बहस गरेका थिए। यस्तै, रविका पक्षबाट सरकारी वकिल (सहन्यायाधीवक्ता) सञ्जिवराज रेग्मीले बहस गरेका थिए।
रिट निवेदक पक्षका तर्फबाट बहस गरेका कानुन व्यवसायीले लामिछानेले अमेरिकी नागरिकता तथा राहदानी त्यागेको स्वघोषणा गरे पनि पुन: नेपाली नागरिकता प्राप्तीका लागि प्रकिया पूरा नगरेको जिकिर गरेका थिए। निवेदक पक्षका कानुन व्यवसायीले लामिछाने आजका मितिसम्म नेपाली नागरिक नरहेको दाबी गर्दै उनको सांसद पद खारेज हुनुपर्ने दलिल पेस गरेका थिए।
नेपाल नागरिकता ऐनको दफा १० को (१) तथा (२) अनुसारको आफ्नो अवस्था भए पनि लामिछानेले ऐनको दफा (११) अनुसार पुन: नेपाली नागरिकता कायम हुनका लागि प्रक्रिया पूरा नगरेको उनीहरुको जिकिर थियो।
प्रतिक्रिया