मेयर

काठमाडौं महानगरका मेयर शाहले भने, ‘डोटीका भूकम्प पीडितलाई सहयोग गरौं’

अनधिकृत टहरा भत्काउँदा राष्ट्रिय समाचार बनेको तर डोटीमा भुकम्पबाट ३८ सय टहरा भत्काउँदा समाचार बन्ने विषय पनि नमानेको बताएका छन्



काठमाडौं : काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले डोटीका भूकम्प पीडितलाई सहयोग गर्न अनुरोध गरेका छन्। उनले डोटीका भूकम्प पीडितहरु कसरी सुरक्षित होलान् भन्ने सार्वजनिकरुपमा चासोसम्म नभएको टिप्पणी गरेका छन्।

काठमाडौंमा अनधिकृत टहरा भत्काउँदा राष्ट्रिय समाचार बनेको तर डोटीमा भुकम्पबाट ३८ सय टहरा भत्काउँदा समाचार बन्ने विषय पनि नमानेको बताएका छन्। ‘नेपालका दुरदराजमा नागरिकहरुले दुख पाइरहदा काठमाडौंमा चासो नै नहुने, समाचार नै नबन्ने अवस्था आज पनि छ।’ मेयर शाहले भने, ‘काठमाडौंमा अनधिकृत टहरा भत्काउँदा राष्ट्रिय समाचार बन्छ तर डोटीमा भूकम्पबाट ३८ सय टहरा भत्काउँदा समाचार बन्ने विषय पनि मानिदैन।’

उनले डोटीमा कार्तिक २३ गते आएको ६.६ रेक्टर स्केलको भूकम्पले ३८ सय घरटहरा भत्काएको स्थानीय गाउँपालिकाको तथ्यांक रहेको उल्लेख गरे। शाहले पीडितहरुको पिडामा अरुको चिन्ता छ भन्ने अनुभुतिले मात्रै पनि उनीहरुको मनोबल बढ्ने बताएका छन्।

‘परालको टहरा बनाएर बसेको स्थानमा चितुवा आक्रमणमा मान्छेको मृत्यु भएको छ। चितुवाको डर छदैछ, त्यसमाथि पुष महिना सुरु भइसक्यो। जाडो बढेको छ। हिउँ पर्न सुरु हुन्छ। अब जाडो र हिउँको कारणले ज्यान गुमाउन सक्ने अवस्था बन्न लाग्दैन। ति पीडितहरु कसरी सुरक्षित होलान् भन्ने सार्वजनिक रुपमा चासोसम्म देखिँदैन। पीडितहरुको पीडामा अरुको चिन्ता छ भन्ने अनुभुतिले मात्रै पनि उनीहरुको मनोबल बढ्नेछ।’

डोटीका भूकम्प पीडितका लागि सहयोगको अनुरोध काठमाडौं महानगरमा पनि आएको उनले जानकारी दिए। मेयर शाहले भने, ‘महानगरबाट विपद् व्यवस्थापन अन्तर्गतको बजेटबाट १० लाख रुपैयाँ सहयोग गाउँपालिकालाई गरेका थियौँ। योभन्दा धेरै गर्न हाम्रा आफ्नै सिमाहरु छन्। यसैले राज्य संयन्त्र, सम्बन्धित मन्त्रालय , सांसदज्युहरु ,सरकारी गैरसरकारी संघसंस्था तथा व्यक्तिपहलमा पनि पीडितहरुलाई सहयोग गर्न अनुरोध गर्दछौँ।’

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ११ : ३१ बजे