अधिवक्ता सुजित के.सी

कम्युनिष्ट पार्टी भन्ने बित्तिकै माक्र्सको विचारधारा बोकेका राजनितिक दल भन्ने बुझिन्छ । संसारमा थोरै मात्र देशले कम्युनिष्ट विचारधारालाई अवलम्बन गरेको पाइन्छ । त्यसमा विशेष गरी रुस, चीन, क्युबा, लाओस, उत्तर कोरिया, भेतनाम लगायतका मुलुकहरुले आफूलाई कम्युनिष्ट राष्ट्रको सुचीमा राखेका छन् । कम्युनिष्ट विचारधारा बोकेका राजनितिक पार्टीले बहुदलीय व्यवस्था र संसदीय प्रणालीलाई अस्वीकार गरेको पाइन्छ । सर्वहारा वर्गको अधिनायकवादलाई नै सर्वपरी मान्दछन् ।

तर नेपालको कम्युनिष्ट पार्टीको चरित्र र स्वभाव हेर्दा निकै फरक पाउन सकिन्छ । समाजवादबाट साम्यवादको परिकल्पनालाई नै सत्य मान्ने कम्युनिष्टले संसदीय प्रणालीलाई स्वीकार गर्नु भनेको धोका हो भन्ने कम्युनिष्टले नेपालमा बहुदलीय व्यवस्था र संसदीय प्रणालीलाई स्वीकारेको पाइन्छ । समाजवादको कुरा गरे पनि कस्तो समाजवाद हो भन्ने अन्यौल अझै पनि देखिन्छ ।

नेपालका कम्युनिष्टहरुले सोभियत समाजवाद र अन्यले प्रजातान्त्रिक समाजवादको कुरा गर्दछन् । नेपालको संविधानमा नेपाललाई समाजवाद उन्मुख राष्ट्र भनिएको छ । तर कस्तो समाजवाद भन्ने विषयमा अहिलेसम्म कहि कतै यसको चर्चा भने भएको छैन् । आम रुपमा बुझ्दा नेपालका कम्युनिष्टहरुले भन्ने गरेको समाजवाद नै विवादास्पदमा छ । माक्र्सवादी समाजवादको विशेषता हेर्दा यसले सम्पत्तिमा राज्य नियान्त्रित अवधारणलाई समर्थन गरेको पाइन्छ । कम्युनिष्ट राष्ट्र रुसमा पूर्ण रुपमा समाजवाद आएको नै छैन्, चीनले अवलम्बन गरेको राजनितिक व्यवस्था हेर्दा निर्लदलीय भएता पनि समाजवादलाई उसले पनि पूर्णमा स्वीकारेको देखिदैन् । परम्परागत समाजवादले निजी सम्पत्तिको विरोध गर्दछ ।

पूजीवादी समाजलाई यसले अस्वीकार गर्दछ । तर चीनले आज संसारकै अर्थतन्त्र कब्जा गर्न लागेको अवस्थामा चीनको व्यवस्थालाई माक्र्सले कसरी व्याख्या गर्छ । माक्र्सले भनेकै समाजवादलाई अहिले चीनले स्वीकार गरेको छ त? सोभियतमा समाजवाद असफल भईसकेको छ भन्दा फरक नपर्ला । उत्तर कोरिया समाजवादको नाऊँमा जनतालाई शोषण र अत्याचार गर्दैछ । माक्र्सले सम्पत्तिलाई शोषणबाट आर्जित मानेको छ । यसलाई सार्वजनिक गर्नुपर्ने र राज्य नियन्त्रित हुनुपर्ने मानेको छ । तर आजको दिनमा राज्यले निजी सम्पत्तिलाई सार्वजनिक गर्न वा अर्थतन्त्रलाई नियन्त्रण गर्न सक्ने अवस्था नै छैन् । अर्को तर्फ कम्युनिष्टहरुले समाजवादमा संसदीय प्रणाली र बहुदलीय व्यवस्था समेतको विरोध गर्दछन् गरेको र सर्वहाराको शासन व्यवस्था भनि एक कम्युनिष्ट पार्टीको अधिनायकवादलाई नै राज्य संचालनको माध्यम मान्दछन् । वर्ग संघर्षले नै सामन्तवाद र पुजीवादको अन्त्य गर्दै समाजवादको माध्यबाट साम्यवादको परिकल्पना गरिएको पाईन्छ । कथामा सुनिएको सत्य युगको राम राज्य जस्तै साम्यवादको परिकल्पना माक्र्सले गरेका पाईन्छ ।

आजको दिनसम्म यसलाई काल्पनिक अवधारण मात्र मानिन्छ । अहिलेसम्म साम्यवादलाई कसैले देखेका र भोगेका छैन् । समाजवाद समेत असफल भईरहेको अवस्थामा साम्यवादलाई कम्युनिष्टहरुले कसरी बुझेका छन् यसका विषयमा वहस हुन जरुरी छ । कांग्रेसका संस्थापक नेता वि.पी कोइरालाले समेत समाजवादको विषयमा चर्चा गरेका थिए । कांग्रेसले पनि समाजवाद उन्मुख राष्ट्र मान्ने उनले बताएका थिए । उनले कम्युनिष्टले भनेको साम्यवादमा प्रजातन्त्रलाई मिसाउने हो भने समाजवाद आउने बताए । उनले भनेको समाजवाद संसदीय प्रणाली, बहुदलीय व्यवस्था र उदार अर्थतन्त्र थियो । जुन समाजवादलाई पश्चिमाहरुले स्वीकारेका छन् ।

कम्युनिष्टले समाज द्वन्दको प्रक्रियाबाट नै अघि बढ्ने तर्क गर्दछन् । सायद त्यसैले कम्युनिष्टहरुले भौतिक द्वन्दबाट नै समाजको परिवर्तन गर्न खोजेको पाइन्छ । हतियारलाई नै परिवर्तनको संवाहक मानेको पाइन्छ । नेपालका माओवादी यसैबाट अभिप्रेरित भएका थिए । अहिले हेर्दा माओवादीले परिवर्तनको शुत्र यसलाई मानेको पाईन्छ । माक्र्सको समाजवाद सर्वहारा वर्गको संघर्ष, सर्वहाराको सत्ता र सम्पत्ति सार्वजनिक नै हो । तर नेपालको कम्युनिष्टहरुको चरित्र र स्वभाव हेर्दा समाजवाद कुलीन वर्ग संघर्ष, कुलीन वर्गको सत्ता र सार्वजनिक सम्पत्तिको निजीकरण जस्तो देखिन्छ । नेपालका कम्युनिष्टहरुले बहुदलीय व्यवस्था र संसदीय प्रणालीलाई समेत स्वीकारेका छन् । निजी सम्पत्तिलाई त्याग्न सकेका छैनन । सम्पत्ति संचेत गर्ने र विलासिता जिवन बिताउनेलाई माक्र्सले समाजवादी हैन् सामन्तवादी भनेको छ । स्वभाव र चरित्रले नेपालका कम्युनिष्टलाई सामन्तवादी मान्न सकिन्छ । सर्वहाराको नाऊँमा कुलीनतन्त्रलाई अबलम्बन गरेको पाइन्छ ।

२०५२ सालमा नेपालको संसदलाई खसीको टाउको राखेर कुकुरको मासु बेच्ने थलो भनि हतियार उठाएका माओवादी समेत अहिले यही संसदीय प्रणालीमा आएका छन् । निजी सम्पत्ति, बहुलीय व्यवस्था र संसदीय प्रणालीलाई स्वीकार गरेका छन् । लामो समय यस्तो राजनितिक अवस्थालाई अभ्यास गरेको नेपाली जनता र स्वयम नेपालका कम्युनिष्टहरुले समाजवादलाई स्वीकार्ने संभावना नै देखिदैन् । न त यो अहिलेको समाजमा सफल नै हुने देखिन्छ ।  समाजवादको चर्चा अहिले चुनावी एजेण्डा बनेको छ तर जनतालाई कस्तो समाजवाद भनि प्रष्ट पारिएको छैन् । मतदाताले  यस विषयमा स्पष्ट रुपमा जानकारी पाउनुपर्ने हो । तर समाजवादको नाऊँमा समृद्ध समाजको सपना बाढिदैछ । यसका व्याख्या विमर्श भने भएका छ्रैन् । नभोगेका र नदेखेका कल्पनिक कुराले मात्र समाजवादलाई पुष्टि गरिन खोजिदैछ ।

संसारकै राजनितिक अवस्थालाई हेर्ने हो भने पनि समाजवाद एउटा दिवा सपना जस्तै हो । अहिलेसम्म कुनै पनि कम्युनिष्ट राष्ट्रमा समाजवाद आएको छैन् । आएको छ त अधिनायकवाद । त्यस्तो अधिनायकवाद जहाँ समाजवादको नाऊँमा सर्वसत्तावादी कुलीन वर्ग नै सत्ता संचालनको केन्द्र बन्दछन् । वर्ग संघर्षको नाऊँमा भौतिक द्वन्द तर्फ समाजलाई उन्मुख गराउने माक्र्सवाद भित्र पर्दैनन् । माक्र्सले परिकल्पना गरेको समाजवादी समाजको वास्तविकतामा हुँन सक्ने सम्भावना नै छैन् । न त नेपाल यसको लागि उर्भर भूमि नै हो । बेकारका कुरा गरेरे सर्वसत्तावादीहरुले समाजवादको नाऊँमा अधिनायकवादलाई ल्याउन खोजेको जस्तो देखिन्छ । जसले नेपाली समाजलाई समाजवाद तर्फ हैन् । नामको मात्र कम्युनिष्टले विचारको नाऊँ भ्रम छर्ने मात्र काम गरेका छन् । यसले झन देशलाई अन्यौल र गन्तब्ध हिन राजनितिक अस्थिरता तर्फ लैजानेछ ।

तपाईको प्रतिक्रिया