काठमाडौँ । प्रहरीले दरबारमार्गस्थित देजाभु क्लब तोडफोडका क्रममा पक्राउ परेकाहरूले ठगी मुद्दाअन्तर्गत कारबाही भोग्ने भएका छन् । तोडफोडका मुख्य कारक डिजे भने काठमाडौंको तारे होटेलमा आराम गरिरहेका छन् ।  अमेरिकी डिजे (डस्को जक्की)का नाममा देजाभु सञ्चालक र इभेन्ट अर्गानाइजरले सर्वसाधारणसँग रकम संकलन गरेको पाइएपछि उनीहरूलाई ठगी मुद्दाअन्तर्गत कारबाही अघि बढाइएको हो । प्रहरीका अनुसार तोडफोडका क्रममा देजाभु सञ्चालक विशाल डाँगी, जयन श्रेष्ठ, मयक खड्का, मिलन श्रेष्ठ, पृथु बास्कोटा, राजीव महर्जन, आकाश न्यौपाने र रितेश मारबाडी पक्राउ परेका छन् । त्यसमध्ये मारबाडी र महर्जन इभेन्ट अर्गानाइजर हुन् । बाँकी सबै क्लब सञ्चालक हुन् । प्रहरीका अनुसार पक्राउ परेका बास्कोटा क्रिकेटका राष्ट्रिय खेलाडी हुन् ।

उनीहरूले अमेरिकी डिजे मर्समेलो ल्याउने भन्दै ५ हजारभन्दा धेरैजनासँग ३५ सयदेखि ५ हजार रुपैयाँका दरले टिकट बिक्री गरेका थिए । तर, पछि मर्समेलो आउन नसक्ने भनेपछि आक्रोशित दर्शक तोडफोडमा उत्रिएका थिए । प्रहरीका अनुसार क्लबमा १७ करोड रुपैयाँभन्दा धेरै मूल्यबराबरको धनमाल तोडफोड भएको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखाका डिएसपी प्रजित केसीले पक्राउ परेका सबैलाई ठगी मुद्दाअन्तर्गत कारबाही अघि बढाइएको बताए । उनले भने, ‘क्लब सञ्चालक र इभेन्ट अर्गानाइजरले मर्समेलोका नाममा महँगो मूल्यमा टिकट बेचेको पाइयो । तर, मार्समेलोलाई उपस्थित गराउन सकेनन् । अर्को महँगो मूल्यमा रक्सी तथा अन्य खाद्य पदार्थ पनि बेचेको पाइयो । त्यसो हुँदा उनीहरूविरुद्ध ठगी मुद्दा आकर्षित हुन्छ ।’

प्रहरीको अनुसन्धानबाट उनीहरूले क्बलको हल क्षमताभन्दा धेरै टिकट बिक्री गरेको खुलेको छ । प्रहरीका अनुसार हलको क्षमता ३५ सय दर्शक अटाउनेछ । तर, उनीहरूले ५ हजारभन्दा धेरैलाई टिकट बेचेका छन् । डिएसपी केसीले भने, ‘हलको क्षमता ३५ सय दर्शक अट्ने देखिन्छ । तर, उनीहरूले ५ हजारभन्दा धेरै टिकट बेचेको खुलेको छ ।’

डिजे मार्समेलो होटेल द्वारिकाज्मा देजाभु क्लब तोडफोडका मुख्य कारक बनेका डिजे मर्समेलो अहिले बत्तीसपुतलीस्थित होटेल द्वारिकाज्मा आरम गरिरहेको खुलेको छ । क्लबको कार्यक्रममा सहभागी हुन उनी मंगलबार काठमाडौं उत्रिएका थिए । त्यसपछि उनलाई होटेल द्वारिकाज्मा बस्ने प्रबन्ध मिलाइएको थियो ।

खानपान नमिलेपछि उनी अचानक बिरामी परेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार डिजे मार्समेलो बिरामी भएपछि क्बलमा उपस्थित हुन नसेको खुलेको छ । डिएसपी केसीले भने, ‘डिजे मार्समेलोसँग पनि हामीले भेट्यौँ । ऊ बिरामी नै भएको खुल्यो । चिकित्सकको सल्लाहपछि उनी अहिले होटेलमा आराम गरिरहेका छन् ।’ आजको नयाँ पत्रिकामा खबर छ ।

यसरी भयो तोडफोड डिजे मार्समेलोलाई देजाभुले महँगो मूल्यमा काठमाडौं उतारेको थियो । सोहीअनुसार इभेन्ट अर्गानाइजरले सर्वसाधारणसँग टिकट बिक्री गरेको थियो । योजनाअनुसार डिजे मार्समेलो बुधबार रातको १० बजे क्बल आउने भनियो । सोहीअनुसार क्लबमा दर्शक जम्मा गरियो । तर, निर्धारित समयमा उनी उपस्थित हुन सकेनन् । अर्गनाइजरले डिजेलाई सम्पर्क गरे । उनी फुड पोइजनका कारण बिरामी परेको खुल्यो । अर्गानाइजरले त्यो विषय दर्शकलाई बताएनन् । उनीहरूले दर्शकलाई डिजे ११ बजे आउने जानकारी दिए । तर, ११ बजे पनि उनलाई उपस्थित गराउन सकेनन् । पछि १२ बजे आउने भनियो । त्यसवेला पनि उपस्थित गराउन सकेनन् । तीव्र प्रतीक्षामा बसेका दर्शकलाई रातको १ बजे अर्गनाइजरले डिजे आउन नसक्ने जानकारी गराए । त्यसपछि दर्शक उत्तेजित बने । क्लबका बाउन्सरले रोक्न खोजे । तर, उनीहरूको केही चलेन । अन्ततः देजाभुमा बिहानको ३ बजेसम्म तोडफोड मच्चियो र पूर्ण रूपमा ध्वस्त बन्यो ।

तपाईको प्रतिक्रिया