काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का उम्मेदवार कमला रोका पूर्वी रुकुमबाट प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पहिलो निर्वाचित महिला सांसद बन्नुभएको छ । कान्छो जिल्लाको रुपमा परिचित पूर्वी रुकुमबाट विजयको खाता खोलेर वाम गठबन्धनका उम्मेदवार रोकाले संघीय नेपालको नयाँ यात्रा शुरु गर्नुभएको छ । माओवादीले सञ्चालन गरेको सशस्त्र संघर्षमा महिला छापामारको रुपमा युद्धमा सहभागी हुने थोरैमध्ये रोका एक हुनुहुन्छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ निर्वाचन लड्ने थोरै महिलामध्ये रोका एक उम्मेदवारको रुपमा मैदानमा उत्रनु भएको थियो । रोकाले प्रतिस्पर्धी हरिशंकर घर्तीमगरलाई छ हजार २८ मत अन्तरले पराजित गर्नुभएको हो ।

निर्वाचन आयोगले प्रकाशित गरेको आधिकारिक तथ्याँकअनुसार वाम गठबन्धनका साझा उम्मेदवार रोकाले १० हजार ४३४ मत ल्याउनुभएको थियो । सो निर्वाचन क्षेत्रका दुवै प्रदेशसभा सदस्यमा समेत माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । विसं २०४६ देखि नै राजनीतिमा लाग्नुभएका रोका कक्षा १० मा अध्ययन गर्दागर्दै भूमिगत हुनुभएको थियो । उहाँले २०५२ सालदेखि तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको संघर्षमा पूर्णकालीन भई भूमिगत राजनीति शुरु गर्नुभएको थियो । छापामारको रुपमा उहाँ विभिन्न लडाइँमा अग्रभागमा रहेर लड्नुभएको थियो ।

माओवादीका नेताहरुका अनुसार उहाँ माओवादीको पहिलो महिला छापामारसमेत हुनुहुन्थ्यो । विसं २०३२ पुस १५ गते रुकुमको प्वाँङमा जन्मनुभएकी रोका ‘महिला कमजोर हुँदैनन्, पुरुष जतिकै सक्षम छन्’ भन्ने मान्यता स्थापित गर्न सफल हुनुभएको छ । उहाँ २०५३ सालमा माओवादी जिल्ला समितिको सदस्य हुनुभएको थियो । विसं २०६१ सालमा माओवादीको केन्द्रीय सदस्यमा रुपमा निर्वाचित हुनुभएका रोका हाल माओवादी केन्द्रको पोलिटब्यूरो सदस्यसमेत हुनुहुन्छ ।

रुकुमको अति दुर्गम मगर किसान परिवारमा जन्मनुभएकी रोका लेखिकासमेत हुनुहुन्छ । कथा तथा निबन्धका साथै विभिन्न पत्रपत्रिकामा नियमित स्तम्भ समेत लेख्दै आउनुभएको छ । अमेरिकी पत्रकार जुलीद्वारा निर्देशित वृत्तचित्र ‘दी सारी सोल्जर’मा रहेका विभिन्न पात्रहरूमध्ये एक साहसी पात्रको रुपमा रोकालाई उल्लेख गरिएको छ । उक्त वृत्तचित्रमा साहसी महिलाको रुपमा नेकपा(एमाले)का नेत्री रामकुमारी झाँक्रीलाई समेत समेटिएको छ । युवा तथा खेलकुदमन्त्रीसमेत बन्नुभएको रोका प्रतिनिधिसभामा पूर्व रुकुमबाट निर्वाचित भएर नयाँ इतिहास रचना गरेको भरतपुर महानगरपालिका प्रमुख रेणू दाहालको टिप्पणी छ । उहाँका श्रीमान् गणेशमान पुन पूर्व आपूर्तिमन्त्री एवं वाइसिएलको पूर्वअध्यक्ष हुनुहुन्छ । पूर्वी रुकुमबाट निर्वाचित भएपछि रासससँग कुरा गर्दै नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रोकाले आफूलाई मतदान गर्ने मतदाता तथा आमजनताप्रति आभार प्रकट गर्नुभएको छ ।

उहाँले प्रशासन, निर्वाचन आयोग, सुरक्षाकर्मीसहित सबै सरोकार भएकालाई समेत धन्यवाद ज्ञापन गर्नुभएको छ । जनतासमक्ष गरेको वाचा स्मरण गर्दै उहाँले भन्नुभयो – “विगतमा राजतन्त्रको अन्त्य गर्ने वाचा गरेका थियाँै । जनताले साथ दिएकाले मुलुकमा गणतन्त्र स्थापना भयो । संविधान लेख्ने कार्यभार लिएर जनतामा गयौँ र त्यो कार्य समेत पूरा ग¥यौँ । अहिले संविधान कार्यान्वयन गर्ने महत्वपूर्ण घडीमा हामी वाम गठबन्धनका तर्फबाट निर्वाचित भएका छौँ । यो नै खुशीको विषय हो ।” कान्छो जिल्ला पूर्वी रुकुममा भौतिक पूर्वाधारसहित जनतालाई सक्षम बनाउने अभिभारा पूरा गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो । उहाँसँगै प्रदेश क मा तेजबहादुर ओली र ख मा पूर्णबहादुर घर्तीले विजय हासिल गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया