तुलसीपुर, दाङ, २१ मंसिर । स्थानीय अरनिको मैदानमा केहीबेर अगाडि प्रहरीले दुई राउण्ड हवाई फायर गरेको छ ।

सो मैदानभित्र मतपेटिका संकलन गर्ने समयमा दुई व्यक्ति प्रहरीलाई हातपात गरी जबरजस्ती मैदानभित्र छिर्न खोजेपछि हवाई फायर गर्नुपरेको दाङका प्रहरी प्रमुख दुर्गा सिंहले बताउनुभयो । प्रहरीले ती दुई जनालाई नियन्त्रणमा लिएको छ ।

अरनिको मैदानमा रहेको मतदान केन्द्रमा अहिले पनि मतपेटिका गाडीभित्र राखिएका छन् । तुलसीपुर उपमहानगरपालिकाका १९ वटै वडाका मतपेटिका तुलसीपुरमा आइपुगेपछि मात्र त्यहाँका मतपेटिकालाई घोराहीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा लगिने इप्रका तुलसीपुरका प्रमुख सुधीर शाहीले जानकारी दिनुभयो ।

तुल्सीभञ्ज्याङमा हवाई फायर

वालिङ, स्याङ्जा, २१ मंसिर (रासस) : गल्याङ नगरपालिका– ११ तुल्सीभञ्ज्याङ गाविस मतदान केन्द्रमा आज अपराह्न प्रहरीले एक राउण्ड हवाई फायर गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आज भएको मतदानका क्रममा दलका प्रतिनिधिबीच भनाभन र झडपको स्थिति भएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गर्दा एक घण्टा मतदान प्रक्रिया स्थगन भई पुनः सञ्चालन भएको मतदान अधिकृत युक्तबहादुर बोगटीले जानकारी दिनुभयो ।

जिल्लाका अन्य मतदानस्थलमा पनि भनाभन तथा झैझगडाबाहेक मतदान शान्तिपूर्णरुपमा भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया