भक्तपुर, २१ मंसिर (रासस) : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा भक्तपुरमा ७६ दशमलव ६९ प्रतिशत मत खसेको छ ।

मुख्य निर्वाचन अधिकृत भोजराज पोखरेलले जिल्लामा कूल एक लाख ७८ हजार ९९ हजार मतदाता रहेकामा ७६.६९ प्रतिशत मत खसेको जानकारी दिनुभयो । क्षेत्र नं १ को खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको भवनमा र क्षेत्र नं २ को बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा मतगणना हुनेछ । मतपेटिका बुझ्ने काम सकिएपछि सर्वदलीय बैठक राखेर मतगणना बिहीबार वा शुक्रबारदेखि गर्ने भन्नेबारेमा निर्णय हुने निर्वाचन अधिकृत उत्तम सिलवालले जानकारी दिनुभयो ।

महदेवामा मत खसेन

राजविराज, २१ मंसिर (रासस) : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा महदेवा गाउँपालिकाको आधारभूत विद्यालय मतदान केन्द्रमा आज मतदान हुन सकेन ।

बिहान सात बजेदेखि जिल्लाको अन्य मतदान केन्द्रमा मतदान कार्य शुरु भए पनि साँझ ५ बजेसम्म उक्त मतदान केन्द्रमा कुनै पनि मतदाता मतदान गर्न नआएको मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ढुंगानाले बताउनुभयो ।

उक्त मतदान केन्द्रमा मतदान अधिकृत र सुरक्षा निकाय तथा निर्वाचन सामग्रीको व्यवस्था भए पनि कोही पनि मतदाता नआएका कारण मतदान हुन नसकेको उहाँले बताउनुभयो ।

डा सिके राउतको गाउँ रहेको सो मतदान केन्द्रमा ९६० मतदाता रहेका थिए ।

तपाईको प्रतिक्रिया