जुम्ला, २१ मंसिर (रासस) : यहाँ आज साँझ ५ः ४० बजेदेखि मतगणना शुरु भएको छ ।

उच्च सरकारी वकिल कार्यालयको भवनमा शुरु भएको मतगणनामा तारजालीभित्र सात गणकको टोली गणना गर्न खटिएको छ । तारजाली बाहिर उम्मेदवार र प्रतिनिधिलाई बसालिएको छ । गणना भइरहेका तीनै कोठामा सिसी क्यामराको व्यवस्था गरिएको मुख्य निर्वाचन अधिकृत प्रकाश ढुंगानाले जानकारी दिनुभयो । तुलसीपुर, दाङ– यहाँ करिब ७० प्रतिशत मतदान भएको छ ।

मुख्य निर्वाचन अधिकृत हेमन्त रावलका अनुसार जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण मतदान भएको छ । जिल्लामा ३९४ मतदान केन्द्रका सबै मतपेटिका सदरमुकाम घोराहीमा आइसकेपछि मात्र मतगणना गरिने मुख्य निर्वाचन अधिकृत रावलले जानकारी दिनुभयो । जिल्लामा तीन लाख ३८ हजार ९५३ मतदाता छन् ।

अहिले मतपेटिका सदरमुकाम घोराहीमा आउनेक्रम जारी छ । मतगणना पद्मोदय पब्लिक मावि भरतपुरमा हुनेछ ।

‘निर्वाचनबाट नयाँ अध्यायको शुरुआत’

चितवन, २१ मंसिर (रासस) : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन विगतका निर्वाचनको पुनरावृत्ति नभएको र यससँगै नयाँ अध्यायको शुरुआत भएको बताउनुभएको छ । पूर्वप्रधानमन्त्री दाहालले आज साँझ रासससँग कुरा गर्दै सामान्य घटनाबाहेक शान्तिपूर्ण र भयरहित रुपमा सम्पन्न भएकामा सबैप्रति धन्यवाद व्यक्त गर्दै उल्लासमय वातावरणमा देशभर निर्वाचन सम्पन्न गरेकामा निर्वाचन आयोगलाई विशेष धन्यवाद दिनुभएको छ । उहाँले ‘यस महान् अभियान’मा सक्रियतापूर्वक सहभागी भई आफ्नो मत जाहेर गर्नुभएका चितवनवासीलगायत सम्पूर्ण देशवासीप्रति आभार प्रकट गर्नुभएको छ ।

“निर्वाचनको सफलतासँगै देशमा राजनीतिक स्थायित्वको वातावरण बन्नेछ, यसले मुलुकलाई समृद्धितर्फ लैजानेछ”, उहाँले भन्नुभयो । उहाँले प्रत्येक मतदाताले निर्वाचनलाई उत्सवका रुपमा लिएर संघर्ष र बलिदानीबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्ने एउटा ऐतिहासिक जिम्मेवारी पूरा गरेको पनि बताउनुभयो ।

निर्वाचन शतप्रतिशत सफल र ऐतिहासिक भयोः फेम्बोसा

काठमाडौँ, २१ मंसिर (रासस) : दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन(सार्क)राष्ट्रको निर्वाचन व्यवस्थापन निकायको साझा मञ्च (फेम्बोसा)ले आज सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन शतप्रतिशत सफल र ऐतिहासिक रुपमा अभिलेख कायम राख्न सफल भएको जनाएको छ ।

निर्वाचन आयोगमा आज साँझ भएको छलफल कार्यक्रममा फेम्बोसा राष्ट्रका निर्वाचन पर्यवेक्षकले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण तवरले निर्वाचन सम्पन्न गरेकामा आयोग पदाधिकारीलाई बधाई ज्ञापन गर्नुभयो । नेपालको संविधान कार्यान्वयनका सन्दर्भमा भएको निर्वाचन ऐतिहासिक र प्रजातन्त्रिक तवरले सम्पन्न भएको जनाउँदै उहाँहरुले पर्यवेक्षणका क्रममा मतदाताले निर्वाचनलाई उत्सवका रुपमा लिएको पाएको बताउनुभयो ।

दलका प्रतिनिधिबीचको सौहार्दता र उत्कृष्ट तथा उच्च निर्वाचन व्यवस्थापनले निर्वाचनलाई ऐतिहासिक रुपमा सम्पन्न गर्न निकै ठूलो योगदान दिएको जनाउँदै अन्तर्राष्ट्रिय पर्यवेक्षकले मतदाता परिचयपत्र वितरण व्यवस्थित रुपमा भएकामा सराहना गर्नुभएको थियो । मतदाता शिक्षा प्रभावकारी भएकै कारण निर्धक्क र सहजताका साथ मतदान प्रक्रिया अघि बढेको तथा विनाहोहल्ला शान्तिपूर्ण ढंगबाट निर्वाचन सम्पन्न भएको उहाँहरुको निष्कर्ष छ ।

फेम्बोसाका तर्फबाट निर्वाचनको पर्यवेक्षण गर्न अफगानिस्तानका अहमद मुर्ताज, बंगलादेशका महबुब रहिम, भुटानका दासो युगेन छेवाङ, भारतका अजय नायक र डा एसवाई कुरेसी, पाकिस्तानका मोहम्मद युसुफ खान, माल्दिभ्सका अहमेद सुलेमानलगायत आउनुभएको थियो । सो अवसरमा निर्वाचन आयुक्त डा इला शर्माले फेम्बोसाका तर्फबाट नेपालको निर्वाचनको पर्यवेक्षण भएकामा प्रशंसा व्यक्त गर्दै पर्यवेक्षकबाट प्राप्त सुझाव र अनुभवलाई आयोगले ग्रहण गर्ने बताउनुभयो । छलफलमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादव, आयुक्त नरेन्द्र दाहाल, ईश्वरी पौडेल र सुधीरकुमार शाह तथा सचिव वेगेन्द्रराज शर्मा पौड्याल पनि सहभागी हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया