भीमदत्तनगर, २१ मंसिर (रासस) : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कञ्चनपुरमा ६९ प्रतिशत मत खसेको छ ।

कञ्चनपुरका मुख्य निर्वाचन अधिकृत डा राजेन्द्रकुमार आचार्यले कञ्चनपुरमा एक लाख ८३ हजार ७४२ मत खसेको बताउनुभयो । निर्वाचन सम्पन्न भएलगत्तै मतपेटिका सदरमुकाम भीमदत्तनगर ल्याउने क्रम जारी छ ।

सप्तरीमा ६० प्रतिशत मतदान

राजविराज, २१ मंसिर (रासस) : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सप्तरीमा ६० प्रतिशत मतदान भएको छ ।

आजै राति अबेरसम्म जिल्लाका विभिन्न मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम राजविराज ल्याइने तयारी गरिएको मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ढुंगानाले बताउनुभयो ।

ललितपुरमा ६५ प्रतिशत मतदान

ललितपुर, २१ मंसिर (रासस) : यहाँ झण्डै ६५ प्रतिशत मत खसेको छ ।

सबै मतदान केन्द्रबाट आएको जानकारीका आधारमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले ६५ प्रतिशतको हाराहारीमा मत खसेको अनुमान गरेको हो । जिल्लाका सबै क्षेत्रबाट मतपेटिका भने मतगणना हुने स्थानसम्म आइपुग्न बाँकी रहेको मुख्य निर्वाचन अधिकृत बालमुकुन्द दवाडीले बताउनुभयो ।

क्षेत्र नं १ का कतिपय मतदान केन्द्रबाट मध्यरातसम्म मात्रै मतपेटिका आइपुग्नेछ । क्षेत्र नं २ र ३ तथा क्षेत्र नं १ को नजिकैका मतदान केन्द्रबाट धमाधम मतपेटिका आइरहेको छ । उहाँले भन्नुभयो, “सबै मतदान केन्द्रबाट मतपेटिका गाडीमा लगिसकिएको छ ।” क्षेत्र नं १ का वाग्मती, कोञ्जेसोम र महांकाल गाउँपालिकाका कतिपय केन्द्रबाट जावलाखेल आइपुग्न गाडीमा पाँच÷छ घण्टासम्म लाग्छ ।

प्रतिनिधिसभामा जिल्लाका तीन क्षेत्रमध्ये क्षेत्र नं १ र २ को जावलाखेलस्थित स्टाफ कलेज र क्षेत्र नं ३ को जावलाखेलकै स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा मतगणना हुनेछ । शान्तिपूर्ण सबै मतदान केन्द्रमा मतदान सम्पन्न भएको दवाडी बताउनुहुन्छ । क्षेत्र नं १ का सबै स्थानको मतपेटिका आइपुगेपछि मात्रै मतगणना शुरु हुनेछ । क्षेत्र नं २ र ३ को भने सर्वदलीय बैठक गरेर आज नै मतगणना शुरु गरिने बताइएको छ । जिल्लामा १३१ मतदानस्थलका २७७ केन्द्रमा मतदान भएको हो ।

तपाईको प्रतिक्रिया